माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो:शनिबार नेपाललाई थप दुई स्वर्ण

हिमाली आवाज ।  पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप’मा आज साँझ सम्मको नतिजामा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

नेपालले दुई स्वर्ण पदक जित्दा भारतले भने आठ स्वर्ण पदक जित्न सफल भयो ।  खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङले बताउनुभयो ।

नेपालका तर्फबाट ६३ केजी मुनि तौल समुहको खेलमा रुपेश तामाङले स्वर्ण पदक जित्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने सुप्रिया गुरुङले स्वर्ण पदक दिलाउनुभयो ।

जुनियर तर्फको क्यूरोगी तर्फको इभेण्टमा भारतले भने आठ स्वर्ण पदक ल्याउन सफल भएको छ । त्यसै गरी दक्षिण कोरियाले तीन स्वर्ण र पाकिस्तानले एक स्वर्ण ल्याउन सफल भएको सङ्घले जनाएको छ ।यसअघि शुक्रबारको खेलमा नेपालले १० वटा स्वर्ण पदक हात पार्दा छिमेकी मुलुक भारत सात स्वर्ण पदक जितेको थियो ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशसम्सेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याडमिन्टन हलमा खेलहरु भइरहेका छन् ।प्रतियोगितामा नेपाल सहित,भारत, पाकिस्तान, श्रीलङका, अमेरिका, बङ्गलादेश लगायतका १३ देशका एक हजार ४०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।

Comments
Loading...