हिमाली आवाज । पोखरामा आइतबार यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोली हेलिकप्टरबाट काठमाठौँ लगिने भएको छ ।
दुर्घटनामा परेका मध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परिक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोली विहान ८ः०० बजे काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा थप परिक्षणका लागि लगिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामानै पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गरिने छ ।
पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार मृतकको शरीरको भिसेरा र डिएनए परिक्षण लगाएतका अन्य आबश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौबाट आउनुभएका फरेन्सिक विभागका चिकित्सकहरुले दिनुभएको थियो ।
मृतकको शव राजधानी लैजानका लागि आजनै सेनाको हेलिकप्टर पोखरा आएपनि प्रक्रिया पूरा नहुँदा रोकिएको थियो ।दुर्घटनामा परेको विमानको ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर सुरक्षित रुपमा प्राप्त भएकाले सशस्त्र प्रहरीमार्फत नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।

