अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि ठमेल—११ लाई

हिमाली आवाज । पोखरामा सञ्चालन भएको १२ औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि काठमाडौँको ठमेल—११ ले जितेको छ ।

पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही माघ ३ गतेदेखी सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पोखराको दीप युनाइटेडलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै ठमेल च्याम्पियन बन्यो ।

उपाधि विजेता ठमेलले रु दुई लाख नगद र ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको घरेलु टोली दीपले रु एक लाखमा चित्त बुझायो ।
खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको हो । ठमेलका लागि नितिन गुरुङ र टासी छिरिङले गोल गर्नुभयो भने दीपका अन्तिम गुरुङले मात्र गोल गर्नुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि दीप युनाइटेडका प्रविन कुमार घोषित हुँदै ट्रफीका साथमा नगद रु १५ हजार पुरस्कार पाउनुभयो ।प्रतियोगिताको उत्कृष्ट गोल किपरमा ठमेलका सञ्जिव खड्गी, उत्कृष्ट डिफेन्डरमा ठमेलका टासी छिरिङ,उत्कृष्ट मिडफिल्डरमा दीपका अन्तिम गुरुङ, उत्कृष्ट स्ट्राइकरमा ठमेलका सागर थापा र उत्कृष्ट प्रशिक्षमा ठमेलकै प्रदिप श्रेष्ठ घोषित हुँदै जनही रु पाँच हजारका दरले नगद पुरस्कार र ट्रफी प्राप्त गर्नुभयो ।

बिजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेल, तमु धिं यूकेका अध्यक्ष हरि गुरुङ, प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले ट्रफी, मेडल प्रमाण पत्र वितरण गर्नुभएको थियो ।प्रतियोगिताका लागि तमु धिं युकेका अध्यक्ष हरि गुरुङले संस्थाको तर्फबाट नगद रु ६० हजार सहयोग गर्नुभयो ।

संस्थाका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, बगर भाई खलकका सचिव मानकाजी गुरुङलगायतले आफ्ना भनाई राखेका थिए ।प्रतियोगितामा भारत देहरादुनको एक टिम सहित कुल २४ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

‘स्वास्थ्यका लागि एक घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’को नारा सहित नारा सहित बगर भाइ खलकले विभिन्न खेलकुद कार्यक्रमहरु गर्दै आएको छ ।

Comments
Loading...