गण्डकीका नवनियुक्त मन्त्रीहरुद्धारा पदवहाली

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका सबै मन्त्रीहरुले आआफ्नो मन्त्रालयमा पदवहाली गर्नुभएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलबार साँझ तीन जना मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णतासँगै यसअघि नियुक्त मन्त्रीहरुको कार्यविभाजन तोक्नुभएपछि आज विहान मन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले विहान पदबहाली गर्नुभएको हो ।
सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ र कृषि तथा जलस्रोत मन्त्री बेदबहादुर गुरुङले भने हिजो साँझनै पदवहाली गर्नुभएको थियो ।

पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चुमानले प्रदेश सरकारको गौरवका आयोजनाका रुपमा रहेको तनहुँको बन्दीपूर र देवघाट गाउँपालिकाको सिमाना सेती नदीमा बन्ने ११५ मिटर लामो पक्की पुल निर्माणका लागि संक्षिप्त वातावरणीय प्रभावको अध्ययन प्रतिवेदन स्वीकृतिका लागि पेश भएको टिप्पणी सदर गर्नुभयो ।

सो क्रममा उहाँले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त सङ्घीयताको कार्यान्वयनमा लाग्न र सबैखालका प्रयासमा साथ दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“अहिलेको कार्यभार सङ्घीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्नु हो । सेवाप्रवाहलाई सहज बनाउँदै जनताको छिटो सम्पन्न गर्ने गरी लाग्न विशेष आग्रह गर्दछु ।”

अन्य मन्त्रीहरुले समेत पदवहालीसँगै मन्त्रालयसँग सम्बन्धित निर्णयहरु सदर गर्नुभएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सात मन्त्रालयले बनाइएको छ । यसअघि १२ मन्त्रालय रहेकामा व्यवभार कम गर्न त्यसलाई घटाइएको मुख्यमन्त्री खगराज अधिकारीले बताउनुभयो ।

गण्डकी प्रदेशमा सरकारले पूर्णता प्राप्त गर्दा सरकारको नेतृत्व गरेको नेकपा(एमाले)ले मुख्यमन्त्री सहित चार मन्त्रालय, माओवादी केन्द्रले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक मन्त्रालय लिएका छन् ।

गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीले सुरुमा चार सदस्सीय मन्त्रिमण्डल गठन गरेपनि कार्यविभाजन गर्नुभएको थिएन ।

अधिकारी नेकपा(एमाले)का २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक गरी ३३ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले संसदमा विश्वासको मत समेत लिइसक्नुभएको छ ।

गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख लिने गरी केन्द्रबाटनै पद बाँडफाँट गरिएको थियो । सभामुखमा माओवादीका कृष्ण प्रसाद धिताल निर्वाचित भइसक्नुभएको छ ।

Comments
Loading...