हिमाली आवाज । पोखरामा रहेको सगरमाथा निकेतन स्कुलमा आज धुमधामले सरस्वती पूजा (श्रीपञ्चमी) मनाइएको छ । विद्यालयमा आज विद्यार्थीहरुले सरस्वतीको पूजा गरी सरस्वती देवीसँग राम्रो पढ्न आहोस् भनेर शिक्षा मागेका छन् ।
त्यसैगरी विद्यालयमा अक्षरारम्भ समेत गरिएको छ । साना बालबालिकाहरुलाई अक्षर लेख्न सिकाइएको थियो । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराए धेरै पढ्न आउँछ भन्ने जनविश्वास छ । कार्यक्रममा विद्यार्थीहरुले सरस्वती देवीको प्रतिमामा माल्यार्पणका साथै पूजा आरधना गरेका थिए ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य दिलिप शर्मा भट्टराईले सरस्वती विद्याकी देवी भएकाले सरस्वतीको पूजा आराधनाबाट जीवनमा ज्ञान र सफलता मिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“आज विद्याकी देवीको पूजा गरिने दिन हो । विद्या, ज्ञान र शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल र संयमित बनाउँछ ।”
सरस्वती पूजाका लागि साना विद्यार्थीहरु सहित अभिभावकहरुको समेत सहभागिता रहेको थियो । यससँगै पोखराका अधिकाँस संस्थागत तथा निजी विद्यालयहरुमा सरस्वती पूजा गरिएको छ ।