हिमाली आवाज । गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सर्वोत्कृष्ट,उत्कृष्ट र निजामती पुरस्कार प्राप्त गर्ने कर्मचारीहरु छनोट गरी पुरस्कृत गरेको छ ।
यसवर्षको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका कानूनतर्फका सचिव शम्भुराज रेग्मीले पुरस्कृत हुनुभयो । उहाँ रु एक लाख राशी सहित पुरस्कृत हुनुभएको हो ।
यसैगरी उत्कृष्ट प्रदेश निजामती पुरस्कार मुख्यमन्त्री कार्यालयका अधिकृत प्रदीपचन्द्र सुवेदी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय पर्वतका विष्णुहरि अधिकारी र यातायात व्यवस्था कार्यालय कास्कीका समिना पुनले पाउनुभयो । उत्कृष्ट हुन सफल सबै जनाले जनही रु ७५ हजार पुरस्कार पाउनुभयो ।

प्रदेश निजामती सेवा पुरस्कार रु ५० हजार बाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शिव लम्साल, आर्थिक मामिला मन्त्रालयका तेजेन्द्रप्रसाद ढकाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका आयुर्वेद चिकित्सक डा शंकर गौतम, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सुरेशकुमार श्रेष्ठ,गोरखा अस्पतालका प्रतिमा श्रेष्ठ र पर्यटन तथा उद्योग कार्यालय कास्कीका अर्जुन काफ्ले पुरस्कृत हुनुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता प्रविण ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ तथा प्रदेश निजामती सेवा नियमावली बमोजिम उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो ।यसैगरी प्रदेश सरकारले जिल्ला र प्रदेशस्तरका निकायहरु मध्येमा उत्कृष्ट कार्यालय छनोट गरी पुरस्कृत गरेको छ ।
उत्कृष्ट हुन सफल कार्यालयहरुमा म्याग्दीमा डिभिजन वन कार्यालय, मनाङ र तनहुँमा कृषि ज्ञान केन्द्र, लमजुङको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नवलपरासी(वर्दघाट सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल, कास्कीको वागवानी विकास स्रोत केन्द्र उत्कृष्ट हुन सफल भए ।
यसैगरी पर्वतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय, मुस्ताङको कृषि ज्ञान केन्द्र,गोरखाको सामाजिक विकास कार्यालय, स्याङ्जाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र बाग्लुङको स्वास्थ्य कार्यालय जिल्लास्तरका कार्यालयहरुमा उत्कृष्ट घोषित भएका छन् । यसैगरी कृषि व्यवसाय प्रवद्र्धन सहयोग तालिम केन्द्र पोखरा प्रदेशस्तरमा उत्कृष्ट कार्यालय घोषित भएको छ ।