हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी पोखरामा पशुपन्क्षीको उपचारका लागि मोडेल(नमूना) भेटेरिनरी अस्पताल भवन तयार भएको छ ।
पोखरा महानगरपालिका –१२ मा नवर्निमित सो भवनको आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।
हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा भवन निर्माण गरिएको हो । कास्की तथा यस आसपासका जिल्लाहरुबाट पशु उपचार तथा कृषकलाई सहज भेटेरिनरी सेवा उपलव्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण गरिएको केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार भवन प्रदेश सरकारको रु छ करोड ४४ लाख २० हजार सात सय ७२ लगानीमा बनेको हो । सुविधासम्पन्न साढे दुई तलाको अस्पताल सो भवन निर्माणका लागि सिद्धबाबा÷फुल्जोर जेभि स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका चिकित्सक डा अनन्त कोइरालाले सुविधासम्पन्न अस्पताल भवनबाट छिटै अन्तरंग, बहिरंगसहितका सेवा प्रदान गरिने जानकारी दिनुभयो । अस्पतालमा प्रयोगशाला, अपरेशन कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याब लगायतका सुविधा रहने उहाँले बताउनुभयो ।
यसैगरी पशुपन्क्षी, माछा, घरपालुवा जनावरको उपचारका लागि समेत छुट्टाछुटटै कक्ष राखिने छ ।
डा कोइरालाले भन्नुभयो,“पुरानो र साँघुरो भवनबाट पशुपन्क्षी उपचार सेवा दिँदै आएकामा अबदेखी अस्पताल भवन निर्माणपछि सहज हुनेछ । सुरुआतमा सबै उपकरण र जनशक्ति पूरा भइसकेको छैन । आगामी दिनमा अस्पताललाई गण्डकी प्रदेशको पशुन्पक्षी उपचारको रेफरल अस्पतालका रुपमा विकास गर्नेछौँ ।”
कार्यक्रममा मुख्यमन्त्री अधिकारीले पशुपन्क्षीको उपचार र कृषकको पशुधनको सुरक्षाका लागि अस्पताल भवन निर्माण महत्वपूर्ण हुने बताउनुभयो । अस्पतालमा आवश्यक साधन स्रोत र जनशक्ति थप गर्नका लागि सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानीमन्त्री बेदबहादुर गुरुङ, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टङ्कप्रसाद प्रसाई, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा प्रेरणा सेढाई, विज्ञ केन्द्रका डिल्लीराम रेग्मी लगायतले अस्पतालबाट विशिष्टिकृत पशु स्वास्थ्य उपचार सेवा प्रवाह गर्नुपर्ने र पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभएको थियो ।