हिमाली आवाज । देशको पर्यटन राजधानी पोखरामा ७४ औँ अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) विभिन्न कायक्रम गरी भव्यताका साथ मनाइएको छ।
सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष जुन ३ मा अन्नपूर्ण आरोहण दिवस मनाइँदै आइएको छ।
नेपाल पर्यटन बोर्डको आयोजना एवं परराष्ट्र मन्त्रालयको सहकार्य र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश र नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सहकार्यमा आज विभिन्न नौ राष्ट्रका राजदूत एवं कूटनीतिज्ञसहित अन्नपूर्ण आरोहण दिवस मनाइएको हो।
दिवसका अवसरमा बिहान पोखराको फिस्टेल गेटदेखि बाराहीघाटसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको सहभागिता थियो।

कार्यक्रममा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार यहाँका पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्र्धनमा लागेको बताउनुभयो । प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधतालाई पर्यटकीयरुपमा उपयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मौरिस हर्जोगको अन्नपूर्ण आरोहणले नेपाललाई पर्वतारोहण र साहसिक गन्तव्यका रुपमा स्थापित गर्न मद्दत पु¥याएको बताउनुभयो ।
पोखरा नेपालको पर्यटनको गहना भएको बताउँदै उनले गण्डकी प्रदेशमा पर्यटनका प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।यसैगरी ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल(टान) गण्डकीले ७४ औँ अन्नपूर्ण डे का अवसरमा सोमबार पोखराको फेवाताल पारी हाइकिङ आयोजना गरेको थियो ।
‘भ्यू फेवा राउण्ड’ नाम दिइएको हाइकिङ कार्यक्रममा एक सय ७० भन्दा बढी पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो ।