हिमाली आवाज । पोखरामा औषधी पसल(फार्मेसी)बाटनै लागू औषधको किनबेच हुने गरेको खुलेको छ । फार्मेसीबाट लागू औषध किनेर निस्किएका एक युवालाई प्रहरीले पक्राउ गरेपछि सो कुरा खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको विभूति फार्मेसीबाट लागू औषध बिक्री गरेको अभियोगमा फार्मेसी सञ्चालक ४८ वर्षीय केदार अधिकारी र खरीदकर्ता धादिङ घर भई हाल पोखरामा बस्ने २७ वर्षीय विजय पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताउनुभयो ।

यही भदौ ५ गते राति नयाँबजारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरेलको शरीर खानतलासी गर्दा झोलामा एक सय २० चक्की लागू औषध फेला परेको थियो । पक्राउ परेको पोखरेललाई सोधपुछ गर्दा आफूले विभूति फार्मेसीबाट खरिद गरेको बताएका थिए ।
त्यसपछि फार्मेसी खानतलासी गर्दा ९० थान लागू औषध फेला परेपछि सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक जिसीले बताउनुभयो ।
“हामीले शङ्का लागेर सुरुमा पोखरेललाई खानतलासी गर्दा उनको साथबाट लागू औषध फेला परेपछि कहाँबाट ल्याएको भनेर सोध्यौँ । फार्मेसीबाट किनेको भनेपछि पसल खानतलासी गयौँ, त्यहाँ लागू औषध भेटियो । त्यसपछि पसल सञ्चालकलाई समेत पक्राउ गरेका छौँ ।” जिसीले भन्नुभयो ।
प्रहरीले पक्राउ परेका पसल सञ्चालक अधिकारीलाई कास्की जिल्ला अदालतबाट लागू औषध मुद्दामा नौ दिन र पोखरेललाई १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।


