हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा भक्तजन तथा दानविरहरुको घुँइचो लागेको छ ।
भुर्जुङखोलाको खाँदरजुङ्गस्थ्ति घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले आयोजित धार्मिक महोत्सवमा सोमबार एक हजार पाँच जना भन्दा बढी भक्तजन तथा दानविरहरुको सहभागिता रहेको थियो ।

श्रीकृष्ण जन्माष्टमी पर्व समेत परेकाले यज्ञमा सहभागी भएर दान गर्नेहरुको ठूलो सहभागिता भएको आयोजक शिवालय मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सोमबार महायज्ञमा एकै दिनमा रु ३८ लाख ५१ हजार चार सय ५१ संकलन भएको धार्मिक महोत्सवका संरक्षक समेत रहनुभएका वडाध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।उहाँका अनुसार सार्दिखोला सहित घाचोक, माछापुच्छ्रे, लाहाचोक, रिभान, पुरुनचौर तथा लामाचौरबाट समेत संघसंस्था, आमा समूह तथा भक्तजनहरुको उपस्थिति रहेको थियो ।


“आज श्रीकृष्ण जन्माष्टमी समेत रहेकाले यज्ञमा सहभागी भएर पून्य आर्जन गर्नका लागि भक्तजनहरुको बाक्लो सहभागिता रह्यो । दान रकम समेत दैनिक वृद्धि हुँदै गएको छ ।” वडाध्यक्ष आचार्यले भन्नुभयो ।
महायज्ञमा सोमबार गण्डकी रेन्बो ट्राउटका सञ्चालक कृष्ण गुरुङ र विष्णु गुरुङबाट रु पाँच लाख २५ हजार पाँच सय २५,सार्दिखोलाका पर्यटन व्यवसायी तथा सामाजिक व्यक्तित्व मीम तामाङले रु एक लाख ४५ हजार सहयोग गर्नुभयो ।

महायज्ञमा नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँबर, सहसचिव शंकर भण्डारी, काँग्रेस गण्डकीका प्रवक्ता मधु बास्तोला,माछापुच्छ्े गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ्े वडा नं ५ का वडाध्यक्ष नारायण प्रसाद पौडेल,अग्रज पत्रकार गंगाधर पराजुली सार्दिखोला पोखरा सम्पर्क समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको आयोजक शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले जानकारी दिनुभयो ।

शिवालय मन्दिर व्यवस्थापन समितिले यही भदौ ६ गतेदेखी श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरेको हो ।


