पृथ्वीनारायण क्याम्पस ६५ औँ वार्षिकोत्सव:पृथ्वीको अस्तित्व रहुन्जेल क्याम्पस बाचिँरहोस्

♦ विष्णु पोखरेल
पोखरामानै उच्च शिक्षाको लागि कलेज स्थापना गर्ने उद्देश्य सहित वि.स २०१६ सालमा मेर्टिक पास गरेका तत्कालिन मल्टी प्रपोज विद्यालय(अहिलेको टुँडिखेल स्थित राष्ट्रिय मा.वि)का बिद्यार्थीहरूले गरेको आन्दोलनको परिणाम स्वरूप २०१७ साल भदौ १७ गते २ जना शिक्षक र १३ जना बिधार्थीहरुसहित नदिपुरको नारायणस्थानमा पृथ्वीनारायण इन्टर कलेजको स्थापना भएको थियो ।

लगत्तै २०१७ फागुनमा ७२१ रोपनी क्षेत्रफलमा फैलिएको भिमकालीपाटन अहिले क्याम्पस भएको ठाउँमा सम्पूर्ण शिक्षक, बिद्यार्थी र स्थानीयबासीहरूको मेहनतबाट बाँस,गिद्रो,खरको प्रयोगमा कलेजको आफ्नै कक्षाकोठा र छात्रावासहरू निर्माण गरिएको इतिहास हामीले सुन्न र पढ्न पाउँछौं। पोखरामै पहिलोपटक प्रमाणपत्र तहमा मानविकी(IA) वि.स.२०१८ मा,स्नातक तहमा मानविकी(BA)२०२० भदौ ४ गते र स्नातकोत्तर तहमा मानविकी संकाय अन्तर्गतको अर्थशास्त्र बिषयको अध्यापन वि.स २०३५ मा यसै क्याम्पसबाट सुरु गरिएको थियो।

वि.स २०३० साउन १ गते पृथ्वीनारायण इन्टर कलेज नयाँ नाम प्राप्त गर्दै पृथ्वीनारायण क्याम्पस मा परिणत भयो।पश्चिमाञ्चल क्षेत्रीय पुस्तकालय नयाँ भवन सहित २०३९ बैशाख ७ गतेबाट सुभारम्भ भएको थियो।जहाँ अहिले इन्टरनेटको व्यवस्था सहित ८६००० पुस्तकहरू,२५० जना बसेर पढ्न मिल्ने र आदरणीय दृष्टिविहीन साथीहरूको लागी राष्ट्रिय ध्वनी पुस्तकालय रहेको छ। त्यही पुस्तकालय कै छेउमा नेपालमा पाइने प्रायजसो ६६० प्रजातिका पुतलीहरु,विभिन्न जनावर र चराचुरुङ्गीहरु भएको अन्नपूर्ण प्राकृतिक संग्रहालय अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) सँगको समन्वयमा क्याम्पसको हाता भित्रै सञ्चालित छ ।
पिएन क्याम्पस र स्ववियु
वि.स २०२२ साल देखि २०६५ सालसम्म क्याम्पसमा विद्यार्थीहरूको साझा,स्वतन्त्र अनि वैधानिक मञ्च स्ववियुको २४ औं पटकसम्म निर्वाचन हुदाँ अनेरास्ववियुले सधै जित्दै आईरहेको छ।

त्यसो त लगभग क्याम्पस सँगसँगै जन्मेको स्ववियुले क्याम्पस को खर र बाँस का छाप्रा हरूको विगत देखि आज अनेकौं भवनहरूको वर्तमान सम्म आउदा पक्कै पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

स्ववियुले गरेका महत्वपूर्ण कामहरु प्याकेजमा भन्नुपर्दा भानु पार्कको निर्माण र आदिकवि भानुभक्तको सालिक स्थापना,२०२७ सालमा शिक्षकहरूले तलव नपाएपछि स्ववियुको नेतृत्वमा बिङ्गो खेलाएर एक लाख पचाँस हजार जम्मा गरी तलव खुवाएको,छात्र विश्राम गृहको निर्माण,क्याम्पसको मूल गेट निर्माण,गेटदेखि सबै संकाय र भवनसम्म पुग्ने ढलान बाटोहरूको निर्माण,कलस्टर कार्यक्रममार्फत विज्ञान प्रयोगशाला निर्माण,बाईक पार्किङ स्ट्याण्डको निर्माण,प्रशासन भवन पुनःनिर्माण,क्याम्पसको आम्दानीको लागि ५१ वटा सटर कम्प्लेक्सको निर्माण,ग्रिन स्पेस पार्क निर्माण गर्दै विद्यार्थीका बीचमा अन्तर संकाय खेलकुद कार्यक्रम, वादविवाद,खुल्ला निबन्ध प्रतियोगिता,रक्तदान कार्यक्रम लगायत सयौं रचनात्मक कार्यक्रमहरु गरेको थियो।

समग्रमा भन्नुपर्दा स्थापना कालमा खरले छाएको कक्षा कोठामा एउटा विषयबाट सुरु भएको क्याम्पसमा महिला,कन्या र विज्ञान छात्रावास सहित २६ वटा भवन निर्माण भएका छन्। एउटा विज्ञान तथा प्रविधि संस्थान र मानविकी,व्यवस्थापन,शिक्षा,कानुन गरी चार संकाय अन्तरगतका ३४वटा विभाग,३४ वटा शैक्षिक कार्यक्रमहरु र ५०० भन्दा बढी विषयहरु अध्ययन भईरहेका छन्।

लगभग ११,९४२ विद्यार्थी, ४७६ प्राध्यापकहरू,९२ कर्मचारीहरू र नयाँ नयाँ विषयहरु BSc Microbiology,BALLB,BBA,BPA,MPA थप भइरहँदा स्ववियुको अतुलनीय भूमिका रहेको थियो। क्याम्पसलाई यहाँसम्म ल्याईपुर्याउनुभएका सबै आदरणीय स्ववियु सभापतिज्यूहरू र स्ववियुको टिमलाई एकमुष्ठ धन्यवाद।
 क्याम्पसका वर्तमान समस्याहरु
१)लाईब्रेरीमा ८६ हजार पुस्तक भएतापनि पाठ्यक्रम अनुसारका पुस्तकहरुको अभाव छ,विद्यार्थीहरूले पर्याप्त पुस्तक पाएका छैनन्।
२)आङ्गिक क्याम्पसहरूको तुलनामा भर्ना फि लगाएत अन्य शुल्कहरू महङ्गो छ।
३)गरीब विद्यार्थीहरूले पढ्ने क्याम्पसमा पुरुष होस्टेल छैन।
४)प्रशासनिक भवन र विभिन्न संकायहरूका भवन भूकम्पका कारण जीर्ण भएका छन्।अधिकांश भवनको झ्यालहरुमा सिसा छैन।
६)शुद्ध पिउनेपानीको अभाव छ।
आज उत्सवको दिनमा धेरै समस्याका कुराहरू नगरौँ जस्तो लाग्यो।
पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाऊ
विगतमा यस्ता सयौं समस्याहरु अवरोधहरुलाई छिचोल्दै यहाँसम्म आइपुग्दा यस क्याम्पसले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राजनीति, कुटनीति,अर्थशास्त्र, विज्ञान,साहित्य, खेलकुद र राज्यको जीवनका विभिन्न क्षेत्रहरुमा आवश्यक दक्ष जनशक्तिहरु जन्माइरहेको छ।नेपालमा रहेका जम्मा १८ वटा विश्वविद्यालयहरु मध्ये पिएन क्याम्पसको विद्यार्थी संख्या भन्दा कम संख्याका १३ वटा विश्वविद्यालयहरु छन्।तर हाम्रो गण्डकी प्रदेशको अग्रणी क्याम्पस,ज्योतिपुञ्ज,सयौँ नेताहरु जन्माएको क्याम्पस,२०७५ सालमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(QAA)क्वालिफाईड क्याम्पस र २०७५ मा देशकै उत्कृष्ट भएको क्याम्पस,पर्याप्त जमिन,भवनहरू,खेलमैदान,दक्ष प्राध्यापकहरु भएको क्याम्पस आजसम्म सरकारी विश्वविद्यालय बन्न सकिरहेको छैन।यसै कारणले सधै शिक्षक बिधार्थीहरूले बारम्बार दुख्ख पाईरहेका छौ।
पृथ्वीनारायण क्याम्पस प्रति गर्व गर्ने व्यक्तिहरूको लागी आज खुसीको दिन हो।क्याम्पसको ६५औं जन्मजयन्तीले माथि उल्लेखित तमाम समस्याहरु समाधान गरी पृथ्वीनारायण क्याम्पसलाई हामीजस्ता गरिब विद्यार्थीहरूले पढ्न सक्ने विश्वविद्यालय निर्माण गर्न हामी सबैलाई सामर्थ्य मिलोस्।

क्याम्पसको स्थापनाकाल देखि विभिन्न कठिन चुनौतीहरुलाई जित्दै आर्थिक,भौतिक,शैक्षिक,नैतिकरुपले क्याम्पसलाई यहाँसम्म ल्याईपुर्याउनुभएका आदरणिय प्राध्यापक गुरूहरू,कर्मचारीहरु,बिद्यार्थी साथीहरु एवम् शुभचिन्तक ज्यूहरूलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु। निकै कठिन सङ्घर्षबाट जन्मिएको क्याम्पस पृथ्वीको अस्तित्व रहुन्जेल पृथ्वीनारायण क्याम्पस बाचिँरहोस्।
जय पृथ्वीनारायण क्याम्पस
लेखक :अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य एवं निवर्तमान पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष हुनुहुन्छ ।

Comments
Loading...