हिमाली आवाज । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपराह्न एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुग्नुभएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
सो गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं.को माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।