हिमाली आवाज । प्रदेश खेलकुद परिषद् गण्डकीले आर्थिक वर्ष २०८१÷०८२ का लागि विभिन्न विधामा गरेको पदक वितरण प्रक्रियामाथि प्रश्न उठेपछि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मञ्चले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पदक वितरणसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सार्वजनिक रूपमा उठाइएका प्रश्नप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
गण्डकी प्रदेशको प्रतिष्ठा र गरिमासँग जोडिएको खेलकुदसम्बन्धी कार्यक्रम निष्पक्ष, पारदर्शी, मर्यादित तथा विवादरहित हुनुपर्नेमा सार्वजनिक भएका विवरणले कार्यक्रम अपेक्षाअनुसार भव्य, सभ्य र विश्वसनीय बन्न नसकेको देखिएको मञ्चको भनाइ छ। विशेषगरी पदक सिफारिस प्रक्रियामा संलग्न व्यक्तिहरू आफैँ पुरस्कृत भएको भन्ने आरोप सार्वजनिक हुनु गम्भीर र अमर्यादित विषय भएको मञ्चले जनाएको छ।
खेलकुदले अनुशासन, निष्पक्षता, इमानदारी र नैतिकताको शिक्षा दिने भएकाले खेलकुद क्षेत्रको मूल्य र मान्यताको संरक्षण गर्ने जिम्मेवारीमा रहेका व्यक्तिबाटै विधि, प्रक्रिया र नैतिकताको उल्लङ्घन भएको देखिनु समग्र खेलकुद क्षेत्रकै लागि दुःखद र लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ।
मञ्चले खेलाडीको मनोबल वृद्धि, खेल क्षेत्रको विकास तथा संस्थागत सुशासनका लागि नेतृत्व तहबाट उच्च नैतिक आचरणको अपेक्षा गरिएको जनाएको छ। त्यस्तो आचरणविपरीत देखिने गतिविधिले खेलकुदप्रति आम नागरिकको विश्वास कमजोर बनाउने खतरा रहने मञ्चको निष्कर्ष छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सार्वजनिक रूपमा उठेका विषयको गम्भीर छानबिन गर्न सम्बन्धित समिति तथा जिम्मेवार पदाधिकारीलाई आग्रह गरेको छ। साथै, पदक वितरण प्रक्रियामा संलग्न सम्बन्धित व्यक्तिहरूले नैतिक जिम्मेवारी वहन गर्दै आफ्नो गल्ती सच्याउनसमेत मञ्चले अपिल गरेको छ।
त्यसैगरी, सम्बन्धित सरोकारवाला निकाय तथा राज्यका जिम्मेवार निकायले निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न, दोषी देखिएका व्यक्तिमाथि कानुन तथा प्रचलित मापदण्डअनुसार आवश्यक कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था मिलाउन मञ्चले माग गरेको छ।
मञ्चले आफू सधैँ स्वच्छ, पारदर्शी, उत्तरदायी र मर्यादित खेल संस्कृतिको पक्षमा रहेको स्पष्ट पार्दै खेलकुद क्षेत्रको गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।
