हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि रु २० लाख ५२ हजार ६८० सहयोग गर्ने निर्णय गरेको छ ।
उद्धार कोषमा गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट रु ७३ हजार ९००, कर्मचारीबाट रु पाँच लाख १४ हजार ७७३, गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट रु १३ लाख ६१ हजार सात र राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सञ्जालबाट रु एक लाख तीन हजार सहयोग जम्मा गरिने गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँ कार्यपालिकाको आज बसेको बैठकले विपद्को समयमा उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको हो ।
गाँपालिकाले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत जिल्लामा मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको छ ।
यसैगरी विपद्को समयमा मानवीय तथा सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न सबैमा अपिल समेत गरेको उपाध्यक्ष सीता अधिकारीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
