हिमाली आवाज । चाङ्गानको विद्युतीय एसयूभी नेभो क्यू०५ पोखरामा सार्वजनिक गरिएको छ । एमएडब्लू वृद्धी अटोकर्प प्रालिले पोखरामा एक कार्यक्रम आयोजना गरी नेभो क्यू०५ सार्वजनिक गरेको हो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमको प्रमुख आतिथ्यमा गाडी सार्वजनिक गरिएको हो । कार्यक्रममा नाडाका पूर्वअध्यक्ष धुर्वबहादुर थापा, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका उपाध्यक्ष निरन केसी, यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख ढाकाराम शर्मा, डीपलका ब्रान्ड एम्बेसडर तथा अभिनेता प्रदीप खड्कालगायतको उपस्थिति थियो ।
नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । विद्युतीय एसयूभीका रूपमा ल्याइएको क्य ू०५ मा १२० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले डब्लुएलटीपी परीक्षणमा ४०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने यसको ऊर्जा खपत १२.९ किलोवाट आवर प्रतिएक सय किलोमिटर रहेको छ ।

कम्पनीका अनुसार क्यू०५ मा सीएटीएल ब्याट्री सेलसहित ‘गोल्डेन सिल्ड ब्याट्री २.०’ प्रविधि प्रयोग गरिएको छ । यसको ३सी फास्ट चार्जिङ प्रणालीले उपयुक्त परिस्थितिमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सक्ने जनाइएको छ । गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ ।
क्यू०५ मा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन उपलब्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेभो क्यू०५ सार्वजनिकसँगै पोखरामा चारदिने टेस्ट ड्राइभ कार्यक्रम पनि आयोजना गरिएको छ । असोज ३ देखि ६ गतेसम्म चाउथेस्थित डीपल पोखरा शोरुममा ग्राहकले गाडीको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
