हिमाली आवाज । उपभोक्ताका अधिकार संरक्षण तथा उपभोक्ता विवादको प्रभावकारी निरुपणका लागि प्रदेश तहमा समेत उपभोक्ता अदालत स्थापना गर्न आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा आइतबार पोखरामा सम्पन्न ‘उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगका कारण र रोकथामसम्बन्धी नागरिक समाजको पैरवी’ विषयक सरोकारवालासँगको छलफल कार्यक्रममा सहभागीले उपभोक्तासँग सम्बन्धित विवादको छिटो र सहज समाधानका लागि प्रदेशस्तरमा समेत उपभोक्ता अदालतको आवश्यकता औँल्याउनुभएको हो । हाल काठमाडौँमा मात्र उपभोक्ता अदालत रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश देवकुमार गिरीले उपभोक्ताका अधिकार संरक्षणका लागि प्रभावकारी न्यायिक संयन्त्र आवश्यक रहेको बताउनुभयो । उपभोक्ताले आफू ठगिएको वा अधिकार हनन भएको अवस्थामा सहज रुपमा न्याय प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपभोक्ताको अधिकार संरक्षणका लागि राज्यका निकायसँगै नागरिक समाज र उपभोक्ता अधिकारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बजारमा गुणस्तरहीन तथा अस्वस्थकर वस्तुको बिक्री वितरण रोक्न नियमित अनुगमन र प्रभावकारी नियमन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अधिवक्ता गणेश आलेले उपभोक्ता अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा चर्चा गर्दै उपभोक्तालाई आफ्नो अधिकार र कानुनी उपचारका विषयमा सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले नागरिकको स्वास्थ्य तथा उपभोक्ता अधिकारसँग जोडिएका विषयमा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराका प्रमुख मनमोहन मिश्रले नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले दैनिक खानपान, शारीरिक गतिविधि र जीवनशैलीमा सुधार ल्याउन सके नसर्ने रोगको जोखिम कम गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा मञ्चका केन्द्रीय महासचिव विष्णु तिमिल्सिना, राष्ट्रिय मानव अधिकार आयोग पोखराकी प्रमुख नितु गड्तौला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, मञ्च गण्डकीका संयोजक पुण्य पौडेल लगायतले नसर्ने रोगको रोकथामका लागि सन्तुलित खानपान, नियमित व्यायाम, स्वस्थ जीवनशैली तथा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमा जोड दिनुभयो ।
वक्ताले पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसको रोकथाममा नागरिक समाज, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरकारी निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँहरूले उपभोक्ताले प्रयोग गर्ने खाद्यवस्तुको गुणस्तर र स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेकाले बजारमा गुणस्तरीय र सुरक्षित खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
