हिमाली आवाज । तेस्रो संस्कणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता २०८३ को इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सहकार्य गर्ने भएको छ । पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्वलाई मध्यनजर गर्दै कम्पनीले उक्त प्रतियोगितालाई भव्य रुपमा सफल पार्न यस बर्ष पनि सहकार्य गरेको प्रतियोगिता आयोजकले जनाएको छ ।
प्रतियोगितासँग सहकार्य गर्ने सम्बन्धमा युनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक दीननाथ बराल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा प्रदेश प्रमुख पौडेलले प्रतियोगितासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै अघिल्लो वर्षदेखि सुरु भएको सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा यही असोज २४ गते शनिबार पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि बिशाल महादेवको मुर्ति(पुम्दीकोट), पोखरा २२ को वडा कार्यालय हुदै कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब ८ किलोमिटर दूरीमा पर्वतीय दौड प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स तथा वडास्तरीय गरी विभिन्न ६ विधामा धावकहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका प्रत्येक विधाका विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैबीच, प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि दर्ता फारम खुला गरिएको छ । खेलाडीहरूको नाम दर्ता सुरु भइसकेको प्रतियोगिता आयोजक संस्था पोखरा प्रवर्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूलाई समयमै आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभएको छ । पुम्दी–भुम्दी क्षेत्रको खेल तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दौड आयोजना हुन लागेको हो ।
