हिमाली आवाज । पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ ।
यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।
यससम्बन्धी सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रतियोगिता अवधिभर आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचारका लागि अस्पतालले आवश्यक जनशक्ति र एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । कुनै घटना भई परेको खण्डमा अस्पतालमा प्रथामिकताका साथ उपचार गराइने भएको छ । आयोजकले मेडिप्लस हस्पिटललाई प्रतियोगिताको आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो ।

स्वास्थ्य सेवामा विगत सात वर्षदेखि सक्रिय मेडिप्लस हस्पिटलमा जनरल मेडिसिन, हाडजोर्नी, स्त्रीरोग, नाक–कान–घाँटी, मानसिक रोग, बालरोग, मुटुरोग तथा क्यान्सर उपचार, सामान्य शल्यक्रिया, छालारोग, नसारोग, फिजियोथेरापी लगायतका सेवा विशेषज्ञ चिकित्सकमार्फत उपलब्ध हुँदै आएको प्रमुख सञ्चालन अधिकृत वि.क.ले बताए । केही समय पश्चात डायलासिस सेवा समेत संचालनमा ल्याउन लागिएको बि.क.ले जनाए ।
अस्पतालमा सामाजिक सुरक्षा कोषअन्तर्गतका सेवा तथा भारतीय भूतपूर्व सैनिकहरूको योगदानमा आधारित ईसीएचएस उपचार सेवासमेत सञ्चालनमा रहेको उनले जानकारी दिए ।
भोटेकोशी बाढीबाट प्रभावित ५ जनाको शव घरसम्म पुर्याउन अस्पतालले सहयोग गरेको थियो । पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने प्रतियोगिता पोखरा–२२ स्थित विश्वशान्ति स्तुपबाट सुरु भई विशाल महादेवको मूर्ति (पुम्दीकोट), पोखरा–२२ वडा कार्यालय हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । प्रतियोगिताको दूरी करिब ८ किलोमिटर रहेको आयोजकले जनाएको छ । पुम्दी–भुम्दी क्षेत्रको खेल तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स तथा वडास्तरीय गरी ६ विधामा धावकहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विधाका विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि खेलाडीको नाम दर्ता खुला गरिएको प्रतियोगिता आयोजक संस्था पोखरा प्रवर्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । उनले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीलाई समयमै नाम दर्ता गराउन आग्रह गरेका छन् । पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई खेलकुदसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
