हिमाली आवाज । मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय आरोही ध्रुवज्योति गुहा र उहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्। मनास्लु हिमालको तेस्रो शिविरमा टेन्टभित्र रहेका बेला हिमपहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।

मनास्लु आरोहणका क्रममा शनिबार उनीहरू तेस्रो शिविर पुगेका थिए। राति एक्कासि हिमपहिरो खसेपछि टेन्टभित्र सुतिरहेका उनीहरू हिउँमा पुरिएका हुन्। स्थानीयका अनुसार घटनाका बेला मनास्लु क्षेत्रमा मौसम अचानक बिग्रिएको थियो र ठुलो वर्षासमेत भएको थियो।
मौसम प्रतिकूल बनेपछि जोखिम बढेसँगै अधिकांश आरोही तेस्रो शिविरबाट दोस्रो शिविरतर्फ झरेका थिए। तर गुहा र शेर्पा भने तेस्रो शिविरमै बसेका थिए। रातिको समयमा आएको हिमपहिरोले उनीहरू बसेको टेन्ट नै पुरेपछि दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मनास्लुमा केही दिन अघि पनि एक विदेशी आरोहीको आरोहणका क्रममा ज्यान गएको थियो ।
