भोटेकोसी बाढीपीडितका लागि भारतीय भूतपूर्व सैनिकद्वारा रु २४ लाख बढी सहयोग

हिमाली आवाज । भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले भोटेकोशी बाढी पीडितको राहत तथा पुनःस्थापनाका लागि रु २४ लाख ३३ हजार ९५२ सहयोग गरेको छ ।

गोरखा ब्रिगेडले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेर आज भौचर रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङलाई हस्तान्तरण गरेको हो ।

रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सो सहयोग गरिएको भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरामा रहेका विभिन्न पल्टनका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरी सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।
अभियानमा सहभागी भूतपूर्व सैनिकले आफ्ना पल्टनका सदस्य, परिवारजन तथा शुभेच्छुकबाट रकम संकलन गरेका थिए ।

नेपालका विभिन्न स्थानमा रहेका भारतीय भूतपूर्व सैनिकले विपद्का समयमा सञ्चालन गर्दै आएको सहयोग अभियान अन्तर्गत हालसम्म रु दुई करोडभन्दा बढी रकम कोषमा जम्मा गरिसकेको गोरखा ब्रिगेड जनाएको छ ।

अध्यक्ष खत्रीले विपद्का समयमा भारतीय भूतपूर्व सैनिक एकजुट भएर सरकार र नागरिकसँग हातेमालो गर्न सधैँ तयार रहेको बताउनुभयो ।
“देशलाई अप्ठ्यारो परेको समयमा हामी भारतीय भूतपूर्व सैनिक एकजुट भएर सहयोग गर्न सधैँ तत्पर छौँ। हाम्रो सानो योगदानले पनि विपद् प्रभावित नागरिकको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।” उहाँले भन्नुभयो।

भारतीय भूतपूर्व सैनिक विभिन्न सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनीहरूले शिक्षा, स्वास्थ्य, मानवीय सेवा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा आफनो क्षमता र स्रोतअनुसार सहयोग गर्दै आएको बताएका छन् ।

Comments
Loading...