हिमाली आवाज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया तल्लो तहबाट माथिल्लो तहमा अघि बढिरहेका बेला पार्टीभित्र नेतृत्व चयनको शैली र पुस्तान्तरणको विषय फेरि बहसमा आएको छ।
कास्कीका युवा नेता मौसम कार्कीले पार्टीको नेतृत्व चयनमा पुरानै समूहगत अभ्यासभन्दा माथि उठेर विचार, क्षमता, योजना, योगदान र संगठनप्रतिको प्रतिबद्धताका आधारमा नेतृत्व चयन गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएकाे छ ।
माछापुच्छ्रे गाउँपालिकाको नेतृत्व तहमा सक्रिय कार्कीले वडा तहदेखि नै पार्टीभित्र देखिएका समूहगत प्रभाव, पुरानो कार्यशैली तथा सीमित व्यक्तिको प्रभावमा नेतृत्व चयन हुने प्रवृत्तिमाथि प्रश्न उठाउँदै आउनुभएकाे ५ । अहिले वडा तहको अधिवेशनपछि पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तहका अधिवेशन अघि बढिरहेका बेला कार्कीले धारणा पुनः सार्वजनिक गर्नुभयाे ।
कार्कीका अनुसार अधिवेशन केवल पद बाँडफाँड गर्ने प्रक्रिया नभई पार्टीको आगामी दिशा र नेतृत्व निर्माण गर्ने महत्वपूर्ण अवसर हो। त्यसैले नेतृत्व चयनमा व्यक्तिगत सम्बन्ध, नातावाद, कृपावाद वा समूहगत निकटताभन्दा क्षमता र योगदानलाई आधार बनाउनुपर्ने उहाँकाे भनाइ छ।
युवा नेता कार्कीले क्षमतावान् व्यक्तिहरू समूहको आडमा नभई खुला रूपमा आफ्ना विचार, योजना र दृष्टिकोणसहित प्रतिस्पर्धामा आउनुपर्ने बताउनुभयाे । “क्षमतावान छौँ भने बिना समूह सबैलाई अगाडि राखेर आ–आफ्नो सोच, विचार, योजना आदि राखेर खुला रूपमा प्रतिस्पर्धा गरौँ,” कार्कीले भन्नुभयाे ।

उहाँले पार्टीभित्र नयाँ पुस्तालाई केवल समर्थक वा कार्यकर्ताका रूपमा सीमित नराखी निर्णय प्रक्रियादेखि नेतृत्व तहसम्म अर्थपूर्ण जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभएकाे छ ।
कांग्रेसको १५औँ महाधिवेशनका लागि वडा तहको अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन्। कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार अब क्रमशः पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ।
कांग्रेसले असोज ८ गतेसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जनाएको छ। मौसम प्रतिकूल भएका क्षेत्रमा भने अधिवेशनका कार्यक्रम प्रभावित भएका छन्। कास्कीमा पनि वर्षाका कारण पूर्वनिर्धारित केही अधिवेशन कार्यक्रम प्रभावित भएको निर्वाचनसम्बन्धी समाचार सार्वजनिक भएको छ।
यही संक्रमणकालीन चरणमा कार्कीले उठाएको प्रश्न नेतृत्व चयनको प्रक्रियासँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक शैलीसँग जोडिएको छ। उनको जोड नेतृत्वमा नयाँ सोच, खुला प्रतिस्पर्धा र पुस्तान्तरण हुनुपर्नेमा छ।
“पुरानै शैलीलाई निरन्तरता दिने कि नयाँ पुस्ताको क्षमता र विचारलाई नेतृत्वमा स्थापित गर्ने?” भन्ने बहसलाई आफ्नो कार्कीले अगाडि सार्नुभएकाे छ ।
अब पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशनमा नेतृत्व चयन हुँदै जाँदा पार्टीभित्र उठेको यो बहस व्यवहारमा कत्तिको प्रतिबिम्बित हुन्छ भन्ने विषय चासोको बनेको छ।
