हिमाली आवाज । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले विश्व लगानीकर्ता सप्ताह–२०२६ का अवसरमा आज पोखरामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बोर्डले पहिलोपटक उपत्यका बाहिर कार्यक्रम गरिएको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको संयोजनमा भएको प्रभातफेरी मानवअधिकार चोकबाट सुरु भई चिप्लेढुंगा र न्यूरोड हुँदै सभागृहमा पुगेर समापन भएको थियो ।
प्रभातफेरीमा पूँजी बजारसँग सम्बन्धित सरोकारवाला, ब्रोकर प्रतिनिधि, लगानीकर्ता, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, व्यवस्थापन संकायका विद्यार्थी तथा तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो ।
विश्व लगानीकर्ता सप्ताहका अवसरमा लगानीकर्तालाई सुरक्षित तथा जिम्मेवार लगानीका लागि सचेत गराउने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा पूँजी बजारबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपाल प्रसाद भट्टले बताउनुभयो ।
उहाँले पूजीबजारको सुधार र प्रविधिमा फड्को मार्ने गरी बोर्डले काम सुरु गरेको उल्लेख गर्नुभयो । उहाँले विभिन्न उपकरण, माध्यम र प्रविधिको अनुसरण गरी बजारलाई अघि बढाइएको बताउँदै लगानीकर्ता समेत प्रविधिसँगै सचेत हुनुपर्ने बताउनुभयो ।

“नेपालमा पछिल्लो समय कर्पोरेट संस्कृतिको विकास हुँदै गएको छ । यसबाट लगानी आकर्षण मात्र होइन बजारमा धन कमाउन अनुशासन जन्माउने र धन कमाउनेलाई सम्मान गर्ने संस्कृति समेत विकास हुन्छ । त्यसैले पूँजी बजारलाई मर्यादित, थप सुरक्षित र , जिम्मेवार र व्यवस्थित बनाउँदै लगानीकर्ताको लगानी सुरक्षामा विशेष ध्यान दिइरहेका छौँ । ” अध्यक्ष भट्टले भन्नुभयो ।
संस्थागत लगानीकर्ता सहित सानो पूँजी भएका लगानीकर्तालाई समेत पूँजी बजारमा आकर्षित गर्ने गरी नयाँ कार्यक्रम र व्यवस्था अघि बढाउन लागिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
“नेपालको पूँजी बजारले पछिल्लो समय नयाँ ढंगले फड्को मार्न थालेको छ । काठमाडौँमा मात्र होइन पोखरा लगायत देशका विभिन्न शहरमा समेत अहिले लगानीकर्ताको सहभागिताले हामीलाई उत्साहित बनाएको छ । ” अध्यक्ष भट्टले भन्नुभयो ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेशकुमार अग्रवालले काठमाडौं पछिको ठूलो पूँजी बजारका रूपमा पोखरा विकास भइरहेको बताउनुभयो ।
नेपाल स्टक हाउस पोखरा शाखा प्रमुख गोकुल रिमालले पोखरामा पूँजी बजारप्रति आकर्षण बढेको र लगानीकर्ता दैनिक थपिरहेको बताउनुभयो । उहाँका अनुसार पोखरामा १५ वटा स्टक ब्रोकर हाउसबाट शेयर कारोबार भइरहेको छ ।
