हिमाली आवाज । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानी घर भएका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ बस्ने ३७ वर्षीय राजु कुमाल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो करिब २ः५२ बजे घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जना मजदुर माथिबाट माटोको ढिस्को खसेर पुरिएका थिए ।घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो ।

उद्धार टोलीले पुरिएका दुबै जनालाई माटो पन्छाएर उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेको थियो । मृतक सुनारलाई ४ः३५ बजे उद्धार गरिएकामा चिकित्सकले ५ः०० बजे मृत घोषणा गरेका थिए । कुमाललाई साँझ ६ः०० बजेमात्र उद्धार गरिएकामा ६ः२६ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रिजालको कमाण्डमा १० जना, वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा सात जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेडक्वाटर कालिका गण पोखराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजत कुमार यादवको कमाण्डमा १३ जनाको टोली उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ । अवैज्ञानिक तरिकाले गरिएका प्लटिङका कारणले घटना घटेको भन्दै सावधानी अपनाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
