हिमाली आवाज । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६ औँ संस्करणको मिति घोषणा गरिएको छ ।
सहारा क्लब पोखराको आयोजनामा हुने २६ औँ संस्करणको यस प्रतियोगिता आगामी माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने क्लब आज औपचारिक रुपमा घोषणा गरेको हो ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउ रहेको छ । पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघ लगायतका संस्थाले सहयोग गर्दै आएका छन् ।
प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि तथा अन्य विवरण पछि सार्वजनिक गरिने आयोजक सहाराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ ।
प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
“आहा रारा गोल्डकप राजधानी बाहिरको सबैभन्दा पूरानो फूटबल प्रतियोगिता हो । विसं २०५८ देखी निरन्तर सञ्चालन हुँदै आएको छ । आगामी संस्करण समेत भव्य र व्यवस्थित सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेका छौँ । ” अध्यक्ष थापाले भन्नुभयो । सहाराले फुटबल प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकमले फुटबल एकेडेमी सञ्चालन गरेको छ ।
पोखरा–१७ दोविल्लामा रहेको एकेडेमीमा हाल देशका विभिन्न भागबाट छनोट भएका २७ जना बालकहरुले आवास सहित शिक्षा र फुटबल सिक्दै आएका छन् ।


Comments