भारतमा शक्तिशाली आँधी आउने देखियो,नेपालमा पनि सतर्कता अपनाउन मौसम विभागको आग्रह

हिमाली आवाज । पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते (अक्टोबर २६) चक्रवातीय आँधीमा विकसित हुने सम्भावना छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।
यस मौसम प्रणालीको प्रभावका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली तथा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यद्यपि, नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र यसले कस्तो असर पार्न सक्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा उक्त प्रणालीको विकासक्रमबारे निगरानी भइरहेको छ। प्रणालीको अवस्था र सम्भावित प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने जनाइएको छ ।

Comments
Loading...