वाइसिएल कास्कीका नेता अधिकारी गृहमन्त्रीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ

हिमाली आवाज । नेपाली कम्युनिष्ट पार्टी कास्कीका नेता गोविन्द अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङविरुद्ध भ्रम फैलाएको आरोपमा अधिकारीलाई प्रहरीले सोमबार पक्राउ गरेर गोरखा पुर्याएको छ ।

अधिकारी वाईसीएलको नेता समेत हुनुहुन्छ । अधिकारीमाथि शनिबार र आइतबार गृहजिल्ला गोरखामा रहेका गृहमन्त्री गुरुङविरुद्ध भ्रम फैलाउने भिडियो सामाजिक सञ्जालमा राखेको आरोप छ ।
सोमबार कास्कीबाट पक्राउ परेका अधिकारीलाई गोरखा ल्याएर मंगलबार सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरी पाँच दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको बताइन्छ ।

यसैगरी वाईसीएल कास्कीले प्रेस विज्ञप्ति निकालेर गृह मन्त्रालयको निर्देशनमा अधिकारी पक्राउ गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । सरकारको आलोचना गरेकै आधारमा राजनीतिक आस्थासँग जोडेर धरपकड गरिएकोमा विरोध जनाउँदै वाईसीएलले अधिकारीको निसर्त रिहाई गर्न माग गरेको छ ।

वाइसिएल कास्कीका इन्चार्ज वसन्त बास्तोला,संयोजक एंगेल्स कार्की र सचिव रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरी पक्राउ परेका अधिकारीको तुरुन्त रिहाईका माग गर्नुभएको हो ।

Comments
Loading...