हिमाली आवाज । फोहोर व्यवस्थापन, पुनः प्रयोग तथा पुनर्चक्रणमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले पोखरामा दोस्रो संस्करणको ‘आरयू फेस्ट २०२६’ सुरु भएको छ ।
‘रि–थिङ्क २०२६ : फ्रम वेस्ट टु वर्थ’ भन्ने नारासहित आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा आयोजित महोत्सव भोलिसम्म सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले फोहोरलाई समस्याका रूपमा मात्र नहेरी त्यसमा रहेका सामाजिक, आर्थिक तथा वातावरणीय सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभयो । फोहोरको पुनः प्रयोग र प्रशोधनलाई प्राथमिकता दिँदै त्यसको उपयोगबाट चक्रीय अर्थतन्त्रको विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकल तथा अपसाइकलमार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) अन्तर्गत महोत्सव आयोजना गरिएको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । महोत्सवले रिसाइकलर, अपसाइकलर, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आम नागरिकबीच सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमार्फत पुनर्चक्रण तथा पुनः प्रयोगमा आधारित उद्यमलाई बजारसँग जोड्ने, उत्पादनको बिक्रीका अवसर सिर्जना गर्ने र विद्यार्थीलाई सिकाइ तथा अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

पोखरामा ग्रिन भेन्चर जोन (जीभीजेड) को अवधारणा प्रवर्द्धन गर्दै आरयू उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
कोइकाका कन्ट्री डाइरेक्टर मूहेओन कोङ र यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योको सुका ले पोखरामा हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र निर्माणका लागि यस्ता कार्यक्रमले योगदान पुर्याउने बताउनुभयो ।
महोत्सवबाट आरयू उद्यमहरूको पहिचान र बजार पहुँच विस्तार हुनुका साथै रिसाइकलर, अपसाइकलर, निजी क्षेत्र तथा पर्यटन क्षेत्रबीचको सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताउनुभयो ।
महोत्सवले चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका उपायबारे जनस्तरमा बुझाइ बढाउनसमेत सहयोग पुग्ने उहाँको भनाइ छ ।
परियोजनाअन्तर्गत तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । यसका साथै विस्तारित उत्पादकको दायित्वसम्बन्धी नियामकीय अनुगमन र संवादलाई समेत प्राथमिकता दिइएको छ ।
आरयू फेस्टलाई पोखराको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्दै हरित उद्यमशीलता, वातावरण संरक्षण र दिगो आर्थिक विकासको साझा मञ्च बनाउने लक्ष्य महानगरपालिकाले लिएको छ ।
