उन्नति साकोसको स्वास्थ्य शिविरबाट ६० भन्दा बढी सदस्य लाभान्वित

हिमाली आवाज । उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ६० जनाभन्दा बढी सदस्य लाभान्वित भएका छन्।

संस्थाले सदस्यहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगको समयमै पहिचान र उपचारमा सहयोग पु¥याउने उद्देश्यले शनिबार (मंसिर ६ गते) एकदिने स्वास्थ्य शिविर आयोजना गरेको हो।

शिविरमा पेट तथा कलेजोरोग विशेषज्ञ डा. शंकर बराल, स्त्रीरोग विशेषज्ञ डा. रूपा पनेरु र मुटुरोग विशेषज्ञ डा. अरुण कँडेलले सदस्यहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो। चिकित्सकहरूले पेट तथा कलेजो, महिला स्वास्थ्य र मुटुसम्बन्धी समस्याको पहिचान, रोकथाम र उपचारका विषयमा परामर्श दिनुभएको थियो।

शिविरका क्रममा सहभागीलाई नियमित स्वास्थ्य परीक्षण गराउन, रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न र आवश्यक उपचारमा ध्यान दिन सुझावसमेत दिइएको थियो।

संस्थाको शिक्षा उपसमितिको संयोजनमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष लेखनाथ अर्यालले सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित नभई सदस्यहरूको सामाजिक तथा स्वास्थ्य सुरक्षामा समेत जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले सदस्यको आवश्यकता र हितलाई केन्द्रमा राखेर सञ्चालन गरिने यस्ता कार्यक्रमले संस्थाप्रति अपनत्व र विश्वास बढाउने उल्लेख गर्नुभयो।

कार्यक्रम सफल बनाउन शिक्षा उपसमितिका संयोजक शलु कुमारी श्रेष्ठलगायत उपसमितिका सदस्यहरूले निर्वाह गरेको भूमिकाप्रति अध्यक्ष अर्यालले आभार व्यक्त गर्नुभयो।

शिविर सञ्चालनका लागि प्राविधिक तथा स्वास्थ्य सेवासम्बन्धी सहयोग गरेको जीएमसी मेडिकल कलेज तथा हस्पिटलप्रति पनि संस्थाले धन्यवाद व्यक्त गरेको छ।

संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले सदस्यहरूको आवश्यकता र हितलाई ध्यानमा राख्दै वित्तीय सेवासँगै स्वास्थ्य, शिक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सदस्यहरूको जीवनस्तर सुधार र सामाजिक हित अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

संस्थाले सदस्यहरूको स्वास्थ्य, शिक्षा, सीप विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।

Comments
Loading...