हिमाली आवाज । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा आयोजना गरेको कर सप्ताह सोमबार समापन गरेको छ ।
‘कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता’को नारा सहित यही मङ्सिर १ देखी सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय कर दिवस मनाइएको थियो ।
कर सप्ताह समापन अवसरमा उत्कृष्ट तीन जना करदातालाई सम्मान गरिएको थियो । कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा आयकरतर्फ सवैभन्दा बढी योगदान गरेको तथा कर बक्यौता नरहेका र कुनै पनि कर अवधिको कर विवरण बुझाउन बाँकी नरहेका करदाताका आधारमा उत्कृष्ट करदाता छनोट गरेर सम्मान गरिएको हो ।
पोखराको टेम्पल ट्री रिसोर्टका अध्यक्ष वसन्त गौतम, कोन सहकारीका अध्यक्ष माधव प्रसाद सिग्देल र एचएस कन्स्ट्रक्सनका प्रोपाइटर विद्यालक्ष्मी कोइरालालाई प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, कार्यालय प्रमुख शिवप्रसाद ढुङ्गाना लगायतले सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङले व्यवसायीले आफ्नो कर दायित्व इमानदारी पूर्वक पूरा गर्दा राज्यको आर्थिक आधार बलियो हुने बताउनुभयो । “। करबाट प्राप्त राजस्व नै मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको महत्वपूर्ण आधार हो । त्यसैले कर तिर्ने संस्कारलाई सबैले आत्मसात् गरेर अघि बढ्नु आवश्यक छ । ” प्रजिअ गुरुङले भन्नुभयो ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख मुख्य कर अधिकृत ढुङ्गानाले कर प्रशासन निजी क्षेत्रमैत्री रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई हतोत्साही नबनाउने गरी कर प्रशासनले काम गरिरहेको बताउनुभयो ।
कर छलीमा हुने कारवाही तथा दण्ड–जरिवानाको दर सोचेभन्दा बढी भएको दृष्टान्त पेश गर्दै मुख्य कर अधिकृत ढुंगानाले त्यस्तो काम नगर्न सुझाव दिनुभयो ।
आर्थिक ऐन २०८३ ले करदातालाई राहत दिन मूल्य अभिवृद्धि कर( भ्याट), अन्तःशुल्क,पुराना बक्यौता र भन्सारमा विभिन्न छुटको व्यवस्था गरेको बताउँदै उहाँले त्यो अवसरको सदुपयोगको गर्न आग्रह गर्नुभयो ।
कर सप्ताहका अवसरमा कार्यालयले कर सचेतनाका लागि प्रभातफेरी, पोखरा तथा लेखनाथ उद्योग बाणिज्य संघसँग कर सम्बन्धी अन्तरक्रिया तथा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको थियो । कर प्रणालीबारे सर्वसाधारणलाई जानकारी गराउने, करदातामा सचेतना अभिवृद्धि गर्ने, कर सहभागिता बढाउने र कर प्रशासन तथा करदाताबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।
