प्रेस स्वतन्त्रता संरक्षणका लागि कास्कीका पत्रकार सङ्गठनहरू एकजुट हुनुपर्नेमा जोड

पोखरा, ७ मङ्सिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सङ्कुचन बढ्दै गएको भन्दै पत्रकार तथा सञ्चारसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिहरूले त्यसको संरक्षणका लागि एकजुट भएर आन्दोलनमा उत्रिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घले घोषणा गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत महासङ्घ कास्की र गण्डकी प्रदेश समितिले सञ्चारसम्बद्ध विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग शनिबार पोखरामा गरेको छलफलमा सहभागीहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै त्यसको विरोध गरेका हुन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको भन्दै त्यसको विरोधमा छलफल आयोजना गरिएको जानकारी दिनुभयो ।

छलफलमा समाचार कक्षभित्रै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेस्र्याउनेमाथि कारबाही नभएको तथा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको भन्दै सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।

महासङ्घ कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीले वर्तमान सरकारले पत्रकारिता क्षेत्रसहित समाजका विभिन्न क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाउनुभयो । सरकारले आर्थिक तथा सूचनाको पहुँचमा अवरोध सिर्जना गरेर सञ्चारमाध्यममाथि नाकाबन्दी लगाएको उहाँको भनाइ थियो । पत्रकारिता क्षेत्रको अस्तित्व रक्षाका लागि पत्रकारहरू सङ्गठित भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासङ्घको केन्द्रीय समितिले अघि सारेका आन्दोलनका कार्यक्रम प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उहाँले सरकारको ध्यानाकर्षण गराउन नसकिए अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कठिन परिस्थितिमा धैर्यता नगुमाई एकताबद्ध भएर आफ्ना मुद्दा उठाउन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

महासङ्घका अर्का पूर्वअध्यक्ष पुण्य पौडेलले कानुनी शासनको अभाव र नागरिक स्वतन्त्रतामाथिको सङ्कुचनका कारण पत्रकारिता क्षेत्र खुम्चिँदै गएको बताउनुभयो । कानुनी शासनको बहालीका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनिवार्य सर्त रहेको उहाँको भनाइ थियो ।

महासङ्घ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठले महासङ्घ कमजोर बन्दै गएको उल्लेख गर्दै अब छलफलमा मात्र सीमित नभई आन्दोलनका ठोस कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सरकारको मिडियाप्रतिको दृष्टिकोण निरङ्कुश रहेको आरोप लगाउनुभयो । विज्ञापन रोक्नेलगायतका गतिविधिमार्फत सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरी नियन्त्रणमा राख्न खोजिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष दीननाथ बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगर, नेपाल पर्यटन पत्रकार सङ्घका अध्यक्ष हरि बास्तोलालगायतले पत्रकारिता क्षेत्रको अस्तित्व रक्षाका लागि साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

महासङ्घ कास्कीका उपाध्यक्ष माधव रेग्मी र सचिव भूपाल गुरुङलगायतको सहभागिता रहेको थियो ।

Comments
Loading...