पाेखराकाे एभरेस्ट एफएमको रक्तदानमा १३५ युनिट रगत सङ्कलन

हिमाली आवाज । एभरेस्ट एफएम ९३ मेगाहर्जले आफ्नो छैटौँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १३५ युनिट रगत सङ्कलन भएको छ ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले लायन्स क्लब अफ पोखरा पिसटाउनसँगको सहकार्यमा शनिबार आयोजना गरेको कार्यक्रममा १०७ पुरुष र २८ महिलाले रक्तदान गर्नुभएको हो । रक्तदान गर्नेमा १५ जना पहिलोपटक रक्तदान गर्ने व्यक्ति हुनुहुन्छ ।

‘नियमित रक्तदान गरौँ, जीवन बचाउने अभियानमा सहभागी बनौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामपाटन, नागरिक समाज पोखरा, महानगर प्रहरी बल, जय देउराली कृषि फार्म, संयुक्त मार्ग टोल विकास संस्थालगायतको संस्थागत सहभागिता रहेको कार्यक्रम संयोजक तथा एफएमका वरिष्ठ समाचारवाचक शिशिर पौडेलले जानकारी दिनुभयो । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता महादेव गुरुङ र उहाँको महादेव टिमले पनि कार्यक्रममा सहभागिता जनाएको थियो ।

रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्रकुमार केसी र आकस्मिक रक्तसञ्चार युनिट पोखराका प्रमुख हरिश्चन्द्र शर्माले पहिलो रक्तदाता पत्रकार विनोद लामिछाने र समाजसेवी टेकनाथ आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । बिहान ७ः३० देखि मध्याह्न १२ बजेसम्म सञ्चालन भएको कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले जीवन बचाउने अभियानमा सहभागी सबै रक्तदाताप्रति आभार व्यक्त गर्नुभयो ।

एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रेडियोले नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । “पोखरामा रगतको अभाव भइरहेको अवस्थामा आयोजित यस कार्यक्रमले अभाव कम गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । उहाँले मिडिया हाउसले वार्षिक कार्यतालिका नै बनाएर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

रक्तसञ्चार केन्द्र पोखराका प्रमुख केसीले स्वस्थ व्यक्तिले प्रत्येक तीन महिनामा रक्तदान गर्न सक्ने बताउनुभयो । “रगतको विकल्प अहिलेसम्म बनेको छैन, रगतको विकल्प भनेको रगत नै हो”, उहाँले भन्नुभयो, “रक्तदान गरेर आफू पनि स्वस्थ रहन र अरूको जीवन बचाउन सकिन्छ ।”

रक्तदान कार्यक्रमलाई तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ, फिस्टेल नर्सिङ कलेज, सुनचाँदी व्यवसायी सङ्घ कास्की, बिग डिजिटल पोखरा, सिटिजन फर्निचर न्युरोड, हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड, डिजिटल साउण्ड एण्ड भिजन, युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखरा र आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल रानीपौवाले सहयोग गरेका थिए ।

त्यस्तै स्टेसन दी फुड क्लब चिप्लेढुङ्गा, कञ्चन ज्वेलर्स तेर्सापट्टी, आरडीएस क्याटरिङ सर्भिस, पोखरा भिलेज एण्ड स्पा, पुन ग्रुप अफ पोल्ट्री इन्डस्ट्रिज, इम्पावर हेल्थ केयर सिमलचौर, गणेशमान प्रधानाङ्ग र पोखरा–१६ की जनप्रतिनिधि मञ्जु बस्यालले पनि सहयोग गर्नुभएको थियो ।

यसैबीच, एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा निर्माण गरेको ‘एभरेस्ट एफएम कक्ष’का लागि सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी गरेको छ । आश्रममा कक्ष निर्माणका लागि एफएमले पाँच वर्षमा रु पाँच लाख २५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

यसअघि चार वर्षसम्म वार्षिक रु एक लाखका दरले चार लाख रुपैयाँ उपलब्ध गराइसकेको एफएमले शनिबार पाँचौँ तथा अन्तिम किस्ताबापत रु एक लाख प्रदान गरेको सम्पादक श्रेष्ठले जानकारी दिनुभयो ।

एफएमको छैटौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष कर्मकुमारी गुरुङ र निर्देशक धना रायमाझीले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

रकम ग्रहण गर्दै संयोजक पुनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा कक्ष निर्माणका लागि सहयोग गरेर एभरेस्ट एफएमले सञ्चारमाध्यमको क्षेत्रमा उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले प्रतिबद्धताअनुसार सम्पूर्ण रकम उपलब्ध गराएकोमा एफएम परिवारलाई धन्यवाद दिँदै ‘एभरेस्ट एफएम कक्ष’ निर्माण भइसकेको र चाँडै उक्त कक्षमा आश्रितलाई राखिने जानकारी दिनुभयो ।

एफएमले स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा आश्रममा कक्ष निर्माण गर्ने घोषणा गरेको थियो ।

यसैगरी, एफएमले वर्षभरि गरेको कामको मूल्याङ्कनका आधारमा प्राविधिक दिलीप भण्डारीलाई ‘बेस्ट स्टाफ अफ दी इयर’ घोषणा गर्दै सम्मान गरेको छ ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङ, निर्देशक रायमाझी, सम्पादक श्रेष्ठ, वित्त निर्देशक भोला श्रेष्ठ, कार्यकारी सम्पादक सन्देश श्रेष्ठ र प्राविधिक प्रमुख रविभूषण पराजुलीले भण्डारीलाई नगद रु ११ हजार १११, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Comments
Loading...