हाम्रो सामुदायिक सहकारीको लगानी साढे २२ करोड

हिमाली आवाज ।  पोखरा महानगरपालिका–६ मा रहेको हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको लगानी रु २२ करोड ४४ लाख ३१ हजार ७०० पुगेको छ ।

सहकारीको गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार उक्त लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा रु छ करोड ९३ लाख ५४ हजार ९२७ ले कम हो ।

सहकारीको शनिबार सम्पन्न १६औँ वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठले उक्त जानकारी दिनुभएको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार सहकारीको शेयर पुँजी रु सात करोड ५५ लाख ५५ हजार ९०० रहेको छ । संस्थाले रु २१ करोड नौ लाख ३० हजार ७८० निक्षेप सङ्कलन गरेको छ भने जगेडा कोषमा रु चार करोड ७२ लाख ३८ हजार २३७ रहेको छ ।

सहकारीले आर्थिक वर्ष २०८२/८३ मा रु तीन करोड ४३ लाख ८१ हजार ४१४ आम्दानी गरेको छ । सो अवधिमा रु दुई करोड ७६ लाख २१ हजार ४१४ खर्च भई रु ६७ लाख ६० हजार खुद नाफा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं गण्डकी प्रदेशसभा सदस्य तथा सहकारीका शेयर सदस्य देवका पहारीले सहकारीले वित्तीय अनुशासन कायम गरी काम गर्दै आएको बताउनुभयो । उहाँले शेयर सदस्यलाई आफ्नै संस्थामार्फत बचत तथा ऋणको कारोबार गर्न आग्रह गर्दै सदस्यबीचको सहकार्य नै सहकारीको आधार भएको धारणा राख्नुभयो ।

सहकारीका संस्थापक सचिव एकराज न्यौपानेले उत्पादनशील क्षेत्रमा लगानी गर्न सके राम्रो प्रतिफल प्राप्त हुने बताउनुभयो । उहाँले सहकारीले प्रचलित ऐन तथा कानुनको पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा विकास गर्न शेयर सदस्य र सञ्चालक समितिलाई आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिका–६ का पूर्ववडाध्यक्ष एवं शेयर सदस्य गोविन्दकुमार श्रेष्ठले संस्थाका गतिविधिमा शेयर सदस्यले चासो राख्दै आर्थिक पारदर्शिता कायम गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो । शेयर सदस्य जगन्नाथ पौडेलले पनि संस्थाको गतिविधिमा सदस्यहरू सचेत रहनुपर्ने धारणा राख्नुभयो ।

शेयर सदस्य रेनु लामिछानेले बचतकर्ताको विश्वास जित्ने गरी संस्थाले काम गर्नुपर्ने बताउनुभयो । विगतका अनुभवबाट पाठ सिक्दै अघि बढे सहकारीको भविष्य उज्ज्वल हुने उहाँको विश्वास थियो ।

साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको सञ्चालक समितिको प्रतिवेदन, सचिव चिरञ्जीवी पोखरेलको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद ढकालको आर्थिक प्रतिवेदन, ऋण लगानी तथा असुली उपसमितिका संयोजक भरतबहादुर पौडेलको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद बरालको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य गोविन्दकुमार श्रेष्ठ र हिरु पुनलाई सम्मान गरिएको थियो । त्यस्तै माध्यमिक तथा उच्च माध्यमिक तहमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको सहकारीका प्रधान व्यवस्थापक डम्मरुराज बरालले जानकारी दिनुभयो ।

सहकारीका उपाध्यक्ष भरतबहादुर पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यसमिति सदस्य जमुना पहारीले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो ।

Comments
Loading...