युवा संघले पोखरामा खोल्यो प्रदेश कार्यालय, माधव नेपाल सहितको एकतावद्ध एमाले बनाउन लागिपरेका छौँः नेता गुरुङ

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबैलाई एकैठाउँमा ल्याएर पार्टीलाई एकतावद्ध बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको कार्यालय भवनको आज पोखराको नयाँबजारमा उद्घाटन गर्दै उहाँले पार्टी अनुशासन तोडेर हिँडेकाहरुलाई पार्टीमा फर्केर गल्ती स्वीकार गरे आम माफी दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो,“सकेसम्म माधव नेपाल सहितको एकतावद्ध पार्टी बनाउँछौँ । त्यसो हुन नसके प्रभाव भएका नेताहरुलाई ल्याएर एमालेलाई नयाँ शिराबाट अघि बढाउँछौँ ।”

एमाले कमजोर हुँदा राष्ट्रिय स्वाधिनता कमजोर हुने र विकास निर्माण लगायतमा काममा असर पर्ने भएकाले समेत जनताको चाहना समेत एकतावद्ध एमाले भएको नेता गुरुङको भनाई छ ।

आगामी स्थानीय तह, प्रदेश र संघीय चुनावमा एमालेले एकल बहुमत प्राप्त गर्ने गरी संगठन निर्माण, विकास निर्माण र रुपान्तरणको काममा केन्द्रित हुन युवाहरुलाई उहाँले आग्रह गर्नुभयो ।

युवा संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले केपी शर्मा ओली सरकार र प्रदेशमा पृथ्वीसुब्बा गुरुङको सरकारले गरेका राम्रा कामको जनतामा प्रचार प्रसार गर्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा,युवा संघका उपाध्यक्ष सन्तोष रावत, केन्द्रीय सचिव हरि लम्साल, प्रदेशका अध्यक्ष महेन्द्र गुुरुङ, कास्की अध्यक्ष पानबहादुर घर्ति लगायतले युवाहरुलाई नेतृत्व गरेर संघ अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

Comments
Loading...