काँग्रेस गण्डकीको अधिवेशन सुरु, पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छः नेता पौडेल

हिमाली आवाज । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु बर्तमानको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उहाँले विपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै उहाँका आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

समय र माग अनुसार काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिदै उहाँले विगतको समिक्षाका आधारमा दीर्घकालिन योजनाका साथ कृयाशिल बन्नुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी संगठनलाई कमजोर बनाएको बताउँदै उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै संगठित र एकतावद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले विपीले देखाएको बाटोमा हिड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उहाँका आदर्श र चिन्तालाई अवलम्बन गर्दै संगठनलाई थप मजवुद र कृयाशिल बनाएर जानुपर्ने बताउनुभयो ।महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै संगठित र एकतावद्ध बनाएर लैजाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक संगठनलाई चलायमान बनाएको बताउँदै यही जोस र उमंगलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई अघि बढाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजवुद र कृयाशिल बनाएर लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापा, काँग्रेस नेता देवराज चालिसे लगायतले बोल्नुभएको थियो ।

संघीय संरचना अनुसार पहिलोपटक हुन लागेको अधिवेशनका लागि अर्जुन जोशी, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, नेता देवराज चालिसे, रघुनाथ पौडेल लगायतले प्रदेश सभापतिमा इच्छा देखाउनुभएको छ ।

Comments
Loading...