माओवादी केन्द्रद्धारा जनयुद्धका शहीद परिवार तथा बेपत्ता र घाइते योद्धा सम्मानित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनका अवसरमा आज जनयुद्धका शहीद, घाइते तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान गरिएको छ ।

पार्टी स्थायी कमिटीका सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देव गुरुङ,शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेल र राष्ट्रियसभामा माओवादी दलका नेता दीनानाथ शर्मा लगायतले जनयुद्धका प्रथम शहीद गोरखाका दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल लगायतका परिवारजनलाई दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गर्नुभएको हो ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनयुद्धका क्रममा उच्च योगदान गरेकाले शहीद,घाइते, बेपत्ता तथा राज्यद्धारा याताना पाएकाहरुलाई सम्मान गरिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष हरि अधिकारीले बताउनुभयो ।

सो अवसरमा जनयुद्धमा गण्डकी प्रदेशबाट पार्टीको उच्च नेतृत्वबाट बलिदान गर्ने शहीद सुरेश वाग्लेका छोरा विकास वाग्ले, बेपत्ता योद्धा पूर्ण पौडेलका आमा मोतिमाया पौडेल, लामो समय जेल जीवन बिताउने झलकपाणी तिवारी, पुराना कम्युनिष्ट नेता पूर्ण बहादुर गुरुङ, क्या पूर्णबहादुर राना(बाग्लुङ),डिल्लीजङ्ग गुरुङ र चन्द्रबहादुर जिसीलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी जनयुद्धमा गोरखा जेल ब्रेकर कमला नहर्की, गजुरी सैन्य हिरासत ब्रेक गर्ने कृष्ण पन्त, जनयुद्धका घाइते गोमा अधिकारी र एकाघरका चार शहीद तनहुँका इन्दु अधिकारी, बालचन्द्र,कलावती र गजेन्द्र अधिकारीका परिवारजन सरोज अधिकारीलाई पनि प्रशंसापत्रबाट सम्मान गरियो ।

पोखरा सभागृहमा मङ्सिर २६ गतेसम्म सञ्चालन हुने अधिवेशनले प्रदेशको नेतृत्व चयन गर्नेछ । अधिवेशनमा माओवादी केन्द्रका गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक÷एक जना गरी सात सदस्सीय पदाधिकारी सहित २२९ सदस्सीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ ।

प्रदेशको प्रथम अधिवेशन विशेष गरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रीत बताइन्छ । अधिवेशनमा पालिकाहरुबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी रहेको प्रदेश सचिव देवेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशको प्रथम अधिवेशनको एकैसाथ अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल रुपमा उद्घाटन गर्नुभयो ।

Comments
Loading...