कुन कुन फिल्म तयार छन् छायांकनमा जान ?

काठमाडौँ, साउन। कोरोनाको महामारीले यतिबेला विश्व आक्रान्त छ । यसको संक्रमण फैलिन नदिन नेपालमा चार महिना लामो लकडाउन भयो । गएको मंगलवारबाट लकडाउन पूर्ण रुपमा अन्त्य भएको छ । तर, संक्रमण दिन(प्रतिदिन भयावह बन्दै गएको छ । लकडाउन खुलेपछि मानिसहरु निर्भिक रुपमा डरररहित घरबाहिर निस्किरहेका छन् । हुन पनि, रोगदेखि डराएर घरभित्रै कहिलेसम्म बस्ने ?

लकडाउन खुलेसँगै विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । सार्वजनिक यातायातदेखि बजार(पसलहरु खुलेका छन् । कोरोनाबाट अतिप्रभावित फिल्म क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सरकारबाट अर्को सूचना जारी नभएसम्म फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि हुने छैनन् । अरु क्षेत्र खोलेर यो क्षेत्रमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको फिल्मकर्मीले विरोध गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले फिल्म क्षेत्र चलायन बनाउन फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्ने विषयमा सरकारमा छलफल भइरहेको बताएका छन् । सरकारले यो निर्णय कहिले गर्ला भनेर फिल्मकर्मीहरु कुरेर बसेका छन् । फिल्म क्षेत्र खुल्ला भएसँगै केही निर्माता तथा निर्देशक फिल्म निर्माण गर्ने तयारीमा छन् । कुन(कुन फिल्म छन् त फ्लोरमा जान तयार ?

निर्माता रोज राणाले भदौबाट फिल्म ‘खलनायक २’ को छायांकन थाल्ने घोषणा गरिसकेका छन् । उनी कामविहीन प्राविधिकहरुका लागि भए पनि सरकारले फिल्मको छायांकन खुल्ला गर्नुपर्ने बताउँदै आएका छन् । अभिनेत्री रेखा थापा पनि भदौबाट नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारीमा छिन् । सविर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा उनले सौगात मल्लसँग रोमान्स गर्दैछिन् ।

निर्माता मौनता श्रेष्ठ पनि भदौबाट फिल्म ‘आँधी तुफान २’ को छायांकन थाल्ने सुरमा छन् । त्यस्तै, गएको बैशाखबाट निर्देशक सुरेन्द्र पौडेल फिल्म ‘बाबरी क्याफे’ को छायांकन सुरु गर्ने योजनामा थिए । तर, चैतदेखि देश लकडाउन भयो । फिल्म क्षेत्र खुलेपछि उनले पनि फिल्मको छायांकन थालिहाल्नेछन् । फिल्ममा अदिती बुढाथोकी र नितेशजंग कुँवरको जोडी बाँधिएको छ ।

निर्माता तथा निर्देशक विकासराज आचार्य पनि सरकारले छायांकन अनुमति दिएपछि ‘नाईं नभन्नू ल ६’ निर्माण गर्ने तरखरमा छन् । केही वर्षयता फिल्म क्षेत्र हाँक्ने ड्राइभरको सिटमा रहेको दीपकराज गिरीको टिम पनि ‘छक्का पञ्जा ४’ को छायांकनका लागि तयार छ । ‘आइ एम ट्वान्टिवान’, ‘अल्लारे २’, ‘के घर के डेरा’ लगायतका फिल्म पनि छायांकनमा जान तयारी अवस्थामा छन् ।

लकडाउन हुनुभन्दा अगाडि केही फिल्म छायांकनरत थिए । ती फिल्मका टिमले पनि सरकारले छायांकन अनुमति दिएसँगै बाँकी छायांकन थाल्नेछन् । ‘ए मेरो हजुर ४’, ‘परदेशी’, ‘दुई नम्बरी’ को लकडाउन भएपछि अधुरैमा छायांकन रोकिएको थियो । जसले गर्दा निर्मातालाई लाखौं घाटा भएको छ । अब फिल्मकर्मीहरु सरकारको बाटो हेरेर पो कहिलेसम्म बस्नु पर्ने हो कुन्नी ?(फिल्मी खबरबाट)

Comments
Loading...