भारतीय मिडिया : स्वतन्त्र सञ्चार माध्यमको उपहास

माधव शर्मा

सञ्चार माध्यमको दायित्व
समाचार र सूचना प्रवाह गर्ने सस्थाहरु चाहे ती पत्रपत्रिका जस्तो छापामाध्यम हुन् वा श्रव्य, दृश्यका रूपमा रहेका रेडियो, टेलिभिजन हुन् वास्तबमा तिनीहरुलाई समाचार माध्यम भनिन्छ । मिडिया अर्थात् माध्यम भन्नुको अर्थ नै ती समाचार र सूचना दिने एउटा साधन मात्र हुन् जुन माध्यमबाट सर्वसाधारणले सही, सत्य र तथ्य सूचना पाउने हक राख्दछन् ।

माध्यम वा साधन भनेको पहुँच बनाउने एउटा उपकरण मात्र हो । त्यो स्वयम् साध्य होइन । त्यो आफैलें लक्ष्य वा गन्तव्य निर्धारण गर्न सक्दैन भन्ने अर्थ हुन्छ । त्यस्ता माध्यमहरुले तथ्यगत र सत्यगत बोक्दै हिँडे मात्र पाठक, श्रोता र दर्शकको विश्वास आर्जन गर्न सक्षम हुन्छन् । त्यही विश्वास आर्जनले गर्दा नै ती शक्तिसाली बन्ने हुन् र सजिलै जनमत सृजना गर्न पनि सफल हुन्छन् ।

यसलाई निष्ठाका साथ अवलम्बन गरेका खण्डमा मात्र मिडियाको धर्म निर्वाह हुन्छ । दायित्व बुझेका सञ्चार माध्यमहरुले अहिलेसम्म आफ्नो धर्म निभाएर आएका छन् । भारतीय छापा माध्यमकै कुरा गर्दा त्यहाँ आफ्नो धर्म निर्वाह गरेर शताब्दी पार गरिसकेका धेरै पत्रिकाहरु आज पर्यन्त जनमत बनाउन सफल छन । सही र गलत, सत्य र झुटबिचको विवेचना गर्ने सवालमा कैयौं भारतीय लेखक, विद्वान्, विश्लेषक र सम्पादकहरुले धेरै पटक आफ्नो देशको राजनीतिक सिमाना, धर्म, सम्प्रदाय तथा जाति, वर्णभन्दामाथि उठेर कलम चलाएका उदाहरणहरु छन् । सम्पूर्ण सरकारी संयन्त्रले जनमत प्रभावित पारेर एकोहोरो रूपमा युद्धको औचित्य पुष्टि गरेको विषम परिस्थितिमा समेत तिनले युद्धबाट लाभभन्दा नोक्सान बढी हुने तर्क दिएर युद्ध रोकेको अनुपम उदाहरणसम्म भारतीय पत्रकारको इतिहासमा रहेको छ ।

आजको अवस्था
आजको अवस्था भने बिल्कुलै फरक छ । समाजका अन्य क्षेत्रमा अपनाएका विकृतिहरु सञ्चार माध्यमका क्षेत्रमा पनि बढ्दै गएको छ । आज आमसञ्चार माध्यमहरु कुनै एउटा संस्थापन, संस्ंथा, दल र समूहको विचार सर्वसाधारणबिच जबर्जस्ती लाद्ने माध्यम बन्न पुगेका छन् । आज केही भारतीय टेलिभिजन च्यानलहरु हेर्दा र सुन्दा तिनले आफ्नो मार्ग दर्शनलाई दोस्रो विश्वयुद्धताका हिटलरका प्रचार मन्त्री रहेका गोयवल्सको मान्यता “झुटो कुरा पनि बारम्बार र लगातार प्रचार गरिरह्यो भने त्यसलाई सर्वसाधारण जनताले सजिलै सत्यका रूपमा लिन्छन् ।” भन्नेबाट निर्देशित प्रतीत हुन्छ । भारतका बौद्धिक व्यक्तित्वहरुले त्यस्ता मिडियाहरुलाई गोदी मिडिया भनी नामकरण गरेका छन् । सरकार वा संस्थापन पक्षको (गोद) अर्थात् पेल्टामा बसेर तिनको मात्र वकालत गर्ने मिडियालाई गोदी मिडिया भन्ने गरिएको छ ।

भारतका स्वतन्त्र विचारकहरुका अनुसार आन्तरिक रूपमा गोदी मिडिया बनेका तिनै मिडिया हाउसहरु विदेशी राष्ट्रका सम्बन्धमा भने भारतीय विदेश मन्त्रालयको हेडक्वाटर रहेको ‘साउथ ब्लक’ को आधिकारिक धारणालाई आफ्नो हुबहु विश्लेषणको आधार बनाउने गर्दछन् । अनि त्यही राग अलाप्छन् र स्याल हुइयाँ पारामा रमाउने गर्दछन् । अहिले नेपाली चेली मनीषा कोइरालाका विरुद्धको विष बमन पनि त्यही हो । भारतमा आफ्नो कलाको उत्कृष्ट प्रदर्शन गर्न सफल भएका कारण सेलिबे्रटी बनेकी मनीषाले आफ्नो माटोलाई माया गर्नु स्वाभविक छ । उनले भारतमा आफ्नो कला बेचेकी हुन् स्वाभिमान होइन भन्नेसम्मको मर्यादा तिनले राख्न सकेनन् ।

अहिले सेलिब्रेटीका रूपमा रहेकी मनीषा कोइरालका सम्बन्धमा भारतीय मिडियाले गरेको तल्लो स्तरको व्यवहारका कारण धेरै नेपाली मनलाई तितो बनाउनु अत्यन्त स्वाभाविक भए पनि भारतीय मिडियाको यस प्रकारको अस्वाभाविक हर्कत भने यो पहिलो होइन । ती मिडियाहरु कतिसम्म पूर्वाग्रही, दूराशयी, बिसाक्त र दूर्भावनाग्रस्त छन् भन्ने कुरा वर्तमान सम्माननीय प्रधानमन्त्रीले आफनो पहिलो कार्यकालमा २०७३ साल असोज १७ गते राजीनामा दिए लगत्तैपछि चिनियाँ कार्डको पराजय र नयाँदिल्लीको सफलताले केपी ओलीको बहिरगमन भन्दै अपमानसाथ प्रकाशित र प्रसारित दर्जनौ भारतीय पत्रपत्रिका र टेलिभिजन च्यानल पढेका र हेरेका नेपालीलाई अहिलेसम्म पनि राम्रै हेक्का रहेको छ ।

School

भारतीय टेलिभिजन च्यानलहरुले आफ्नो स्वार्थ अलिकता नमिल्दासाथ आफना सबै छिमेकी देशहरुको मानमर्दन गर्न लागी पर्दछन् । यस्तो मानमर्दनमा प्रायः सबै निकट छिमेकी मुलुकहरु बेला बेलामा परेका छन् । यसमा कोही अपवाद भए त्यो बेग्लै कुरा हो । यस्तो अनर्गल र कूप्रचारको कोपभाजन पाकिस्तान र चीन हुनु त कुनै नौलो कुरा भएन । त्यो त सदाबहार युद्धस्तरमा चल्ने गरेको पाइन्छ । यद्यपि भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्ना सबै छिमेकीसँग सौहार्दपूर्ण सम्बन्ध बढाउने कुरामा बारम्बार जोड दिनुभएको पाइन्छ ।

भारतीय सञ्चार माध्यमको अर्को एउटा पक्ष के छ भने विदेश नीतिका सम्बन्धमा भारतीय विदेश मन्त्रालयको हेड क्वाटर रहेको ‘साउथ बल्क’को आधिकारिक धारणा नै सबै मिडियाको गायत्री मन्त्र बन्ने गरेको छ । तिनीहरु त्यसमै आफ्नो कुनै विश्लेषण गर्न रुचाउँदैनन् । जानकार भारतीय बुद्धिजीवीहरु कतिसम्म भन्द छन् भने साउथ बल्कमा एकै विषयको पत्रकार ब्रिफिङ्ग पनि सधैँ दोहो¥याएर गर्ने गरिन्छ । सबै मिडियालाई एक पटक सामान्य जानकारी दिएपछि केही सीमित मिडियालाई बेग्लै राखेर डिक्टेक्ट गरिने प्रचलन पुरानै हो ।

भारतीय टेलिभिजन च्यानल नियमित हेर्नेहरुलाई राम्रैसँग थाहा छ ती धेरै च्यानलहरुले भारतीय संस्थापन पक्ष कुनै विशेष दल त्यसको सरकारका नेताभन्दा अरू प्रतिपक्षका नेता र समर्थकहरुलाई सधैँ होच्याउने गरेको पाइन्छ । कुनै इस्युमा आफैले आमन्त्रण गरेर बोलाएका विपक्षी नेता, तिनका समर्थक र सरकारी योजनासँग विमति राख्ने बुद्धिजीवीहरुको विचारको आफै प्रतिवाद गर्न तम्सेर लाग्ने गरेको प्रस्ट देख्न सकिन्छ । सरकारका प्रवक्तासमेत उनीहरु बारम्बार आफै बन्ने गरेको देखिएको छ ।

फरक विचारलाई हपक्काएर बोल्नसमेत दिँदैनन् । स्टुडियोमा आफै चुरिफुरी गरेर विद्वान्हरुलाई समेत दुत्कार्ने गर्दछन् । कुनै पनि बहस कार्यक्रममा तिनलाई तथ्य, सत्य दस्तावेज, प्रमाणको केही अर्थ छैन । चिच्याएर कराएर आफ्नो गलत कुरा पनि सही प्रमाणित गर्न सकिन्छ भन्ने उही गोयवल्सको तौर तरिकामा ती मन्त्रमुग्ध बनेका पाइन्छन् । त्यस्ता च्यानलहरुमा को सबैभन्दा बढी उग्र बन्न सकिन्छ भन्ने होडबाजी चलेको जस्तो प्रतीत हुन्छ । तिनको स्तर कस्तो छ भन्ने कुराको मूल्याङ्कन त नेपालमा भूकम्प गएको वर्ष काठमाडौँमा रिपोर्टिङ गर्न आएका भारतीय पत्रकारलाई त्रिभुवन अन्तर राष्ट्रिय विमान स्थलमा अनाधिकृत प्रवेश रोक्दा नेपाली सुरक्षाकर्मीको जागिर खाइदिनेसम्मको धाकधम्की देखाएबाट उही बेलै प्रस्ट भएको थियो ।

गलत स्कुलिङको उपज
धेरै भारतीय मित्र ती टेलिभिजन प्रस्तोताहरुको एकलकाट्टे स्वभाव हुनुमा गोदी मिडियाको दम्भ ठान्छन् । तर त्यो मात्र होइन, तिनको स्कुलिङ नै गलत भएको हुनुपर्दछ भन्ने पनि धेरै नै रहेका छन् । तिनको कलिलो बाल मस्तिष्कमै तिनलाई “हमारा भारत महान्” भनेर सिकाउँदा अरू मुलुकमा पनि आफ्नो देशलाई माया गर्ने मानिस बस्छन् भन्नेसम्म पनि सिकाइएन जस्तो लाग्छ । युद्ध, झगडा,विवाद कुनै पनि देश देशहरुबिच हुने हो त्यसमा दुबै देशका नीति निर्माताहरु दोषी होलान्, सामान्य सबै जनता शत्रु होइनन् र हुन सक्दैनन् भन्ने पनि कसैले सिकाए जस्तो छैन । यस्तो कसैले सिकाएको हुन्थ्यो भने तिनले पटक पटक पाकिस्तानी र चिनियाँ जनतालाई समेत अपमानित गर्ने थिएनन् होला ।

“मेरा भारत महान्”को अर्थ सबै कुरामा आफ्नो देशको सरकार मात्र सही हुन्छ भनेको अवश्य होइन होला ? हालै नेपालले आफ्नो छुटेको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि एउटा भारतीय टेलिभिजन च्यानलका प्रस्तोताले कतिसम्म भन्न भ्याए भने, “नेपालले आफुलाई के सम्झेको छ ?, तिनका गाडीमा हामीले तेल हालिदिएर तिनको गाडी गुडेका छन्, दाल, चामल र नुन हामीले पठाइदिएर तिनले खान पाएका छन् । चीनको इसारामा भारतसँग निहुँ खोज्न तिनलाई लाज सरम लाग्दैन ? ।

भारतले हामीलाई जस्तै चीनको इसारामा लागेको भन्ने आरोप आफ्ना लगभग सबै छिमेकीहरुलाई उसको सानो स्वार्थ बाझिँदा लगाउने गर्दै आएको छ । पाकिस्तानप्रतिको उसको स्थायी दुश्मनीको र उसको विरुद्ध प्रचारको त कुरा नै गर्न आवश्यक रहेन । भारतीय सञ्चार माध्यमहरुले हामीलाई औँला ठड्याएर “लाज सरम” लाग्दैन भन्ने आरोप लगाउने कुरा पनि उदेकलाग्दो छ । वास्तवमा लाज सरम अरूको भूभाग लामो समयसम्म हडपेर कब्जा जमाएर बस्नेलाई लाग्नुपर्ने हो कि ?

आफ्नो भूभाग ससम्मान फिर्ता गर भन्नेलाई लाग्ने हो ? आश्चर्यजनक कुरा छ । तिनका बेतुक बकबासपूर्ण र हेपाहा कुराका बिच पनि एउटा तितो सत्य के चाहिँ हो भने हामीले कहिले स्वाबलम्बी हुन सिकेनौँ, कहिले स्वाभिमानी बन्न चाहेनौँ, कहिले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जुटेनौ र परनिर्भर बन्न हुँदैन भनेर सिकेनौ । यो भने विडम्बना नै मान्नु पर्दछ । यस कुरामा भने हामीले आत्म समीक्षा गर्न आवश्यक छ ।

टिप्पणिहरु
Loading...