हिमाली आवाज । पोखराको मध्य भाग भएर आठ वटा वडा हुदै बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन आजदेखी सुरु भएको छ ।
जिरोकिमीस्थित फिर्केको लायन्य भवनमा डोजर चलाएर अतिक्रमण हटाउने अभियान औपचारिक सुरु गरिएको हो । अहिले फिर्केका तीन स्थानबाट डोजर चलाएर अतिक्रमण हटाइएको छ ।
पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानिलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटर स्थित लायन्स भवनदेखि फेवाताल तर्फ गरी तीन स्थानबाट डोजरहरु चलाउन सुरु गरिएको हो ।
महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसिमा शनिबार सकिएको थियो ।
महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । पोखरा महानगरप्रमुख धनराज आचार्यले फिर्के संरक्षण अभियान कसैको विरोधका लागि नभईकन प्रकृतिको संरक्षण र सुरक्षित भविष्यका लागि गरिएको साझा प्रयास हो भन्नुभयो ।
“फिर्के खोला लगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनावद्ध हिसावले काम सुरु गरेको छ । खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौँ,खोलाको संरक्षण र भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गरौँ । ” महानगर प्रमुख आचार्यले भन्नुभयो ।
महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदन अनुसार फिर्के खोलाघर माथी स्थायीदेखी अस्थायी प्रकृतिका एक सय ६० संरचनाहरु निर्माण गरिएका छन् । फिर्केखोलानै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ । यसैगरी खोलामाथी १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरु निर्माण गरिएका छन् ।
फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिम तर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ वटा गरी पाँच सय ८८ सिमा स्तम्भहरु गाडिएका थिए ।
