आज युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

काठमाडौँ,३ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन भएको थियो । तीस वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याए । नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उनैले पाएका छन् ।

युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेकोे रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरी भानुभक्तलाई चर्चामा ल्याउने काम गरे । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

Comments
Loading...