पोखरामा ‘फेक फेसबुक आईडी’ बनाएर ठगी गर्ने पक्राउ, सचेत रहन प्रहरीको आग्रह

पोखरा,३१ साउन । पोखरा महानगरपालिका–३ नदीपुरका २१ वर्षीय रोशन हमाल पेशाले विद्यार्थी हुन् । तर उनको काम भने विभिन्न व्यक्तिहरुको नक्कली ‘फेक फेसबुक आइडी’ बनाई ठगी गर्ने रहेको खुलेको छ । नक्कली आइडीबाट विभिन्न बहाना बनाउने, दुःखमा परेकाले सहयोग गर भन्ने र ठगी गर्दै हिँड्ने उनलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न बहाना बनाएर आफन्त र नजिकका व्यक्तिलाई म्यासेज पठाई रकम असुल गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका हमालले वीरगन्जको एक बैंङ्कमा कार्यरत कर्मचारीलाई ठगी गर्ने नियत राखी सोही बैंङ्कमा कार्यरत वरिष्ठ अधिकारीको नामको नक्कली (फेक) फेसबुक आईडी बनाएर विश्वासमा पारी आफुलाई अति आवश्यक परेको भन्दै नगद रु एक लाख ठगी गरेका थिए ।

पीडितले आफ्नै सिनियर अधिकारीलाई अप्ठ्यारोमा परेको भन्ने लागेर इ–सेवा मार्फत तुरुन्त रकम ट्रान्सफर गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।प्रतिवादीलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रनान हमालले जानकारी दिए ।

हमाल यस भन्दा अगाडि पनि विद्युतीय कारोबार ऐन,२०६३ विपरितको कसुरमा नौ महिना थुनामा रहेको साथै जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सार्वजनिक अपराध मुद्दामा रु पाँच हजार धरौटीमा छुटेको बताइन्छ ।

प्रहरीले निज प्रतिवादीबाट अन्य व्यक्ति समेत ठगिएको हुन सक्ने भएकोले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दै सबैमा सचेत रहन समेत आग्रह गरेको छ ।

Comments
Loading...