सडकबाट उद्धार गरिएका बालबालिकालाई शैक्षिक सामग्री वितरण

पोखरा ३१ भदौ । पोखरा महानगरपालिकाले सडकबाट उद्धार गरेर बालगृहमा राखेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिकाले झोला, कापी, कलम र स्वीटर वितरण गरेको हो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बालगृहमा रहेका बालबालिकालाई सामग्री वितरण गरेकी थिइन् । कोरोना भाइरसको संक्रमणसंगै सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेपछि पोखराका विभिन्न ठाँउबाट उद्धार गरि अन्नपूर्ण गाँउपालिका लेवाडेमा रहेको चिल्ड्रेन नेपालको बाल गृहमा राखेको छ । बाल गृहमा १८ जना बालबालिका रहेका छन् ।

छ महिनादेखि उनीहरुको सम्पूर्ण खर्च पोखरा महानगरले गरेको छ भने आवासका लागि भवन चिल्ड्रेन नेपालले उपलब्ध गराएको छ । उद्धार गरिका बालबालिका मध्य केहीले पढने इच्छा ब्यक्त गरेकाले उनीहरुलाई पढने वातावरण बनाउन महागनरले तयारी गरेको उपप्रमुख गुरुङले बताइन् । उनले केहीलाई सीप सिकाएर स्वरोजगार बनाएर परिवारमा पूर्नस्थापित गराउने गरी छलफल भैरहेको बताइन् । उपप्रमुख गुरुङले सोमबार बाल दिवसकै दिन सामग्री वितरण गर्ने योजना भएपनि महत्वपूर्ण कामले गर्दा आउन नसकेकोले बताइन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा महिला अधिकृत विष्णुमाया पौडेलले बाल दिवसको अवसरमा अन्य औपचारी कार्यक्रम गर्ने अवस्था नरहेकाले महानगरले उद्धार गरेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको बताइन् ।

Comments
Loading...