कृष्ण प्रणामी बृद्धाश्रमलाई बेल्जियमबाट सहयोग

पोखरा,१ असोज । पोखरा महानगरपालिका वडा नं. २७ सयले पाँखामा रहेको कृष्ण प्रणामी बृद्धाश्रमलाई बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।

आश्रमका जेष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भै हाल पोखरा चायापानीमा बसोबास गर्ने बैदेशिक रोजगारीको शिलशिलामा बेल्जियम रहेका राजेन्द्र गुरुङ्ग र उनका धर्मपत्नी दया कुमारी सिग्देलले सहयोग गरेका हुन ।

गुरुङ्गले आफ्नी स्व. आमा क्रोहस्यो गुरुङ्गको स्मृतिमा आश्रमका जेष्ठ नागरिकलाई दाल चामल सहितको खाद्यान्न सामाग्री, १३ थान ब्लाङ्केट र नगद रु १२ हजार ९ सय सहित करिव रु ६५ हजार रुपैया बराबरको सहयोग गरेका हुन ।

बेल्जियमबाट पठाएको सहयोग आश्रमका अध्यक्ष दुर्गा प्रसाद गौतमलाई सहयोगदाता गुरुङ्गका आफन्त नारायण गुरुङ्ग, बिना गुरुङ्ग, कल्पना गुरुङ्ग र श्याममाया गुरुङ्गले हस्तान्तरण गरेका थिए ।

त्यसक्रममा नारायण गुरुङ्गले विषम परिस्थितिका कारण आश्रममा आइपुगेका जेष्ठ नागरिकलाई आफन्तको स्मृतिमा गरिएको सहयोगले केही समय भएपनि सहज जीवन यापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

आश्रमका अध्यक्ष गौतमले कठिन परिस्थितिमा रहेका जेष्ठ नागरिकलाई यस्ता सहयोगले हामीलाई हेर्ने पनि कोही छन् है भन्ने विश्वास जागेको उल्लेख गरे । कार्यक्रममा स्थानीय समाजसेवी मोहम गुरुङ्ग, गोविन्द बास्तोला, बुद्धिसागर पोखरेल लगायतको सहभागिता रहेको थियो ।

Comments
Loading...