पोखरा अन्तरराष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

हिमाली आवाज । निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ ।

कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुबैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख इन्जिीनियर विनेश मुनंकर्मीले बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीपक पौडेल तथा सचिव विश्वप्रकाश लामिछाने नेतृत्वको टोलीसँग बिहीबार भएको छलफलमा हालसम्मको प्रगतिका बारेमा जानकारी गराउँदै आयोेजना प्रमुख मुनंकर्मीले धावनमार्ग(रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको बताए ।

त्यसैगरी आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवन लगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टील संरचना तथा छाना छाउने काम सकिएको र फिनिसिङ र डेकोरेशनको काम बाँकी रहेको उनले बताए ।

हाल चिनियाँ कामदार तथा कर्मचारी १८० तथा नेपाली ९० जना मजदूरले विमानस्थको काम गरिरहेको र तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने प्रमुख मुनंकर्मीले बताए ।

उनले भने,“कोरोनाका कारण अङ्ग्रेजी नयाँवर्षदेखीनै आयोजनाको काम प्रभावित भएकाले छ महिनाअघिनै विमानस्थलको काम सक्ने हाम्रो लक्ष्य पूरा नभएपनि अवको काम उपकरण जडानको रहेकाले सामग्री आउने वित्तिकै काम शुरु गरेर तोकिएको समयभित्रमा काम सम्पन्न गर्न सकिन्छ भन्ने विश्वासमा छौँ ।”

आयोजना समयमै सम्पन्न गर्न प्रदेश तथा स्थानीय सरकारबाट केही काममा अझै सहयोग आवश्यक रहेको बताउँदै  राजनीतिक दलको समेत साथ र सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।

नेकपा महानगर कमिटीका अध्यक्ष पौडेलले कोरोना महामारीका बेलामा समेत आयोजनाको काम सुचारु भएकामा आयोजना परिवार तथा निर्माण कम्पनीप्रति आभार व्यक्त गर्दै राष्ट्रिय गौरवको आयोजना निर्धारित मितिभित्रमै सम्पन्न गरेर नयाँ सन्देश दिनुपर्ने बताए । आफ्नो पार्टीले आयोजना निर्माणका क्रममा आइपर्ने स्थानीयस्तरका हरेक समस्या समाधानका लागि प्रतिवद्ध रहेको स्पष्ट पारे ।

Comments
Loading...