राजश्व कार्यालय पोखराको दुई महिनाको राजश्व सङ्कलन निराषाजनक

हिमाली आवाज । कोरोना नियन्त्रणका लागि गत चैत ११ गतेदेखी शुरु गरिएको बन्दाबन्दी गत साउन पहिलो साता हटेपनि यसको प्रभाव राजश्व सङ्कलनमा परेको छ ।

साउन महिनामा रु ६५ करोड राजश्व उठाउने लक्ष्य लिएको कार्यालयले जम्मा रु ४५ करोडमात्र उठाउन सफल भएको थियो ।यसअघि गत वर्ष चैतदेखी असारसम्म बन्दाबन्दीका कारण राजश्व सङ्कलन प्रभावित भएकामा साउन÷भदौमा राजश्व लक्ष्य भन्दा बढी उठ्ने अनुमान थियो । तर कार्यालयले लिएको लक्ष्य भन्दा धेरै कम मात्र राजश्व जम्मा भएको छ । भदौ पहिलो सातादेखी जिल्लामा लागू गरिएको निषेधाज्ञाको असर राजश्वमा देखिएको छ ।

त्यसैगरी भदौ महिनामा रु ८८ करोड तीन लाख १६ हजार लक्ष्य रहेकामा रु ६४ करोड ६४ लाख ९४ हजार राजश्व उठेको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी विजय लामिछानेले जानकारी दिए । सङ्कलित राजश्व कूल लक्ष्यको ७३ दशमलव ४४ प्रतिशत हो ।

कर अधिकृत लामिछानेका अनुसार कार्यालयले भदौ महिनामा आय करबाट रु २८ करोड ३१ लाख २२ हजार, मूल्य अभिवृद्धि कर रु २२ करोड ७६ लाख ३० हजार, अन्तःशुल्क रु छ करोड नौ लाख छ हजार, ब्याज छ करोड ७२ लाख ७८ हजार, घरभाडा कर ७३ लाख २६ हजार, शिक्षा सेवा कर रु दुई लाख नौ हजार तथा स्वास्थ्य सेवा कर रु २४ हजार सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजश्व सङ्कलन गरेको कार्यालयले कोरोना प्रभावलाई हेरेर चालू आवमा राजश्वको लक्ष्य समेत कम राखेको थियो । गत आर्थिक वर्ष २०७६÷०७७ मा लक्ष्य भन्दा रु एक अर्व ५८ करोड ५६ लाख कम राजश्व सङ्कलन भएको थियो ।

विभिन्न शीर्षकबाट रु पाँच अर्व ६१ करोड ६७ लाख उठाउने लक्ष्य राखेकामा रु चार अर्व तीन करोड ११ लाख मात्र राजश्व सङ्कलन भएको बताइन्छ ।

कर अधिकृत लामिछानेले चालू आवको दुई महिनाको राजश्व सङ्कलनको अवस्था सन्तोषजनक नरहेको बताए । उनले भने,“कोरोना नियन्त्रणका लागि विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा तथा लकडाउनको प्रभाव अहिले पनि व्यापार व्यवसायमा परेकाले हामीले लक्ष्य पूरा गर्न सकेनौँ,करदाताको विस्तारै उपस्थिति बढ्ने र लक्ष्य पूरा हुने विश्वासमा छौँ ।”

कार्यालयमा एक लाख ५२ हजार भन्दा बढी करदाता दर्ता भएका छन् । कूल करदाता मध्य ९२ हजार ८४७ व्यक्तिगत करदाता(इ प्यान),व्यावसायिक प्यानमा ५९ हजार २८०, मुल्य अभिवृद्धि करमा ११ हजार ८१० र अन्तःशुल्क पाँच हजार ५३ जना छन् ।

राजश्व कार्यालयले सेवाग्राहीलाई अनलाइन माध्यमबाटनै सबै खालको राजश्व तथा कर विवरण बुझाउने व्यवस्था रहेको जनाउँदै कार्यालयमा भीडभाड नगर्न तथा विभागको वेवसाइटमा गएर कर सम्वन्धी सेवा लिन समेत आग्रह गरेको छ ।

Comments
Loading...