बैँक तथा वित्तिय संस्थाको धम्की दुःखद : पोखरा उद्योग वाणिज्य संघ

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य सङ्घले कर्जाको साँवा र ब्याजको लागि उद्योगी÷व्यवसायीलाई तारन्तार ताकेता नगर्न बैङ्क तथा वित्तिय संस्थासँग माग गरेको छ ।

सङ्घका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को बढ्दो जोखिमसँगै निम्तिएका अन्त्यहीन समस्याहरुसँग जुधिरहनु उद्योगी÷व्यवसायीको दैनिकी बनेको उल्लेख गर्नुभएको छ ।

हालको विषम् अवस्थामा समेत केही बैंङ्क तथा वित्तिय संस्थाहरुले व्यवसायीलाई कर्जा भुक्तानीका लागि ताकेता गर्ने तथा धितो लिलाम एवं कालो सूचीमा नाम निकाल्ने धम्कीसमेत दिने गरेको उल्लेख गर्दै यस्तो कार्य गर्नु दुःखद भएको उल्लेख गर्नुभएको ।

नेपाल राष्ट्र बैङ्कका गभर्नरबाट पटक–पटक बैङ्क तथा वित्तिय संस्थाहरुलाई मौद्रिक नीति मार्फत् घोषित कार्यक्रम लागू गर्न एवं व्यवसायीहरुलाई थप प्रताडना नदिन भएको आग्रहको वेवास्ता नगर्न सङ्घले आग्रह गरेको छ ।

‘संक्रमणको त्रासका बीच सङ्कुचनमा परेको उद्योग÷व्यवसाय जोगाउने मौद्रिक नीतिमार्फत् घोषित राहतका कार्यक्रमहरु तत्काल कार्यान्वयनमा ल्याउन,कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणको निर्देशन कार्यान्वयन गराउन नेपाल राष्ट्र बैङ्क समक्ष अनुरोध गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

निजी क्षेत्रले कर्जा तिर्दिन नभनेको उल्लेख गर्दै धम्कीबाट अविचलित रहन र परिस्थितिको जटिलतालाई ख्याल राख्दै सुरक्षित तवरले उद्योग÷व्यवसाय सञ्चालन गर्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह समेत गरिएको छ ।

Comments
Loading...