पोखराको खोलावेसीमा पक्की मोटरेवल पुल शिलान्यास

हिमाली आवाज । पोखरा महानगरपालिकाको वडा नम्बर ३१ स्थित खोलावेसीमा मोटरेवल पुल बन्ने भएको छ । रु दुई  करोड १२ लाखको लागतमा बन्ने पुलको शनिबार पोखरा महानगर प्रमुख मानबहादुर जिसीले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा प्रमुख जिसीले पूर्वाधार निर्माणलाई उत्पादनसँग जोड्नु पर्ने बताउनु भयो । पुल निर्माणले आवत जावतमा सुविधा पुग्ने हुनाले कृषि उत्पादनलाई प्राथमिकता दिएमा स्थानीय बासिन्दाको आर्थिक स्तर  उकास्न पनि सहयोग पुग्ने बताउनुभयो । विकटलाई निकट ल्याउने योजना अनुसार महानगरले खोलावेसीमा पुल निर्माण गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३१ का अध्यक्ष कमलबहादुर थापाले खोलावेसी क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना रहेको बताउनुभयो । खोलावेसी टोल विकास संस्थाका संस्थापक अध्यक्ष तथा पुल निर्माण गर्न जग्गा  समेत उपलब्ध गराउनु भएका जग्गा दाता रामचन्द्र सुवेदीले पुल निर्माणले स्थानीय बासिन्दालाई आवत जावतमा सुविधा पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गर्नु भयो ।

महानगरका सब इन्जिनियर अनिल आचार्यले १६ मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाइको पुल निर्माण हुने जानकारी दिनुभयो । खोलावेसी टोल विकास संस्थाका सचिव कमल सुवेदीले पुल निर्माणपछि खोलावेसी, वडा नम्बर २८ को पूर्वी भाग र मादी गाउँ पालिकाको मकैखोलाका स्थानीय पनि लाभान्वित हुने बताउनुभयो ।

काश्यप निर्माण सेवा तथा सप्लायर्सका शिवकुमार श्रेष्ठले पुल वैशाखसम्ममा निर्माण गरिसक्ने बताउनुभयो । खोलावेसी टोल विकास संस्थाका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

Comments
Loading...