संसद् विघटनविरुद्ध प्रचण्ड–माधव पक्षबाट संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ । प्रतिनिधिसभा विघटनका विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दै नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिदेखि २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिनुभयो । आन्दोलनका लागि संघर्ष समिति गठन भएको जानकारी दिदै संघर्षलाई सशक्त पार्ने निर्णय भएको बैठकपछि उहाँले भन्नुभयो ।

प्रचण्ड नेपाल पक्षले पुस १० गते बिहान १० बजे सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
यस्तै पुस २० गतेसम्म सबै नगर, गाउँपालिकामा पार्टीको बैठक र भेला हुनेछ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ ।

बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले संविधान र गणतन्त्रका विरुद्धको कडीका रुपमा संसद विघटन भएकाले त्यसको प्रतिकार गर्दै संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलगायका उपलव्धि जोगाउन जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहुनपर्ने बताउनुभएको थियो ।

Comments
Loading...