गण्डकी प्रदेशका ११ वटै जिल्लामा भोलीदेखी कोरोना खोप लगाइने, पहिलो चरणमा १७ हजारलाई खोप

हिमाली आवाज ।गण्डकी प्रदेशका ११ वटै जिल्लामा भोली माघ १४ गतेदेखी कोरोना भाइरस विरुद्धकोे ‘कोभिसिल्ड’ खोप अभियान शुुरु गरिने भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खोप अभियानको शुभारम्भपछि सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम शुरु भएको घोषणा गरिने र सम्वन्धित जिल्ला अस्पतालमा खोप लगाउन शुरु गरिने सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ । पहिलो चरणकोअ अभियान माघ १८ गतेसम्म पाँच दिन सञ्चालन हुने जनाएको छ ।

प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप लगाइने सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले बताउनुभयो ।

पहिलो चरणको खोप कास्कीमा पाँच हजार ६७१,गोरखामा एक हजार ८०८,बाग्लुङमा एक हजार ७७०,लमजुङ एक हजार ५८२,तनहुँ एक हजार ६९९, स्याङ्जा एक हजार ५४१,नवलपुर एक हजार ५२, पर्वत एक हजार २३९,म्याग्दी ८४३,मुस्ताङ २१९ र मनाङमा २०६ जना अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लगाइने जनाइएको छ ।

प्रदेशको राजधानी शहर पोखरामा खोप लगाउने जनशक्तिको सङ्ख्या बढी रहेकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पलाल,मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुआत गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

खोप कार्यक्रमका लागि प्रदेशबाट हरेक जिल्लामा विज्ञ टोलीको सहभागिता रहने र खोपको अवाञ्चिछत घटना भएमा प्राथमिक उपचार जिल्लामा गरिने र जटिल अवस्था भएमा प्रदेशस्थित ‘रिफरल’ अस्पतालमा पठाइने योजना सरकारको छ ।

Comments
Loading...