नेकपाद्धारा भोली देशव्यापी आमहड्ताल घोषणा,आज ७७ वटै जिल्लामा मसाल जुलुस

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले माघ २२ गते बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।पार्टी कार्यालय पेरिशडाँडामा आज पत्रकार सम्मेलन आयोजना गरी सो पार्टीले आम हड्ताल घोषणा गरेको ।

सरकारको असंवैधानिक कदमका विरुद्ध बाध्यतावस आम हड्तालको घोषणा गरिएको नेकपा प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । हड्तालका क्रममा एम्बुलेन्स, शवबाहन, दूधका गाडी, प्रेस लगायत अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग कलकारखाना, व्यापार व्यवसाय तथा सार्वजनिक यातायात बन्द गरिने जनाइएको छ ।

सरकारले असंवैधानिक रुपमा संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरी शपथ गराउने निर्णय फिर्ताको माग सहित आन्दोलनको कार्यक्रम परिमार्जन गरिएको सो पार्टीले जनाएको छ । आमहड्तालको अघिल्लो दिन आज साँझ देशव्यापी मसाल जुलुस प्रदर्शन गरिने सो पार्टीका स्थायी कमिटी सदस्य पम्फा भुसालले बतताउनुभयो ।

प्रतिगामी कदम खारेज, संविधानलाई क्रियाशिल बनाउन संविधानसम्मत फैसला गरी देशमा लोकतन्त्र सुदृढ गर्ने विश्वास सो पार्टीको छ ।

Comments
Loading...