मिडिया एक्सन नेपालमा पन्त, गण्डकी प्रदेश संयोजकमा आचार्य

काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन हुनुभएको छ ।

शनिबार काठमाडौँमा सम्पन्न मिडिया एक्सन नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा,सचिवमा आरती शिल्पकार,कोषाध्यक्षमा दीपा केसी चयन हुनुभयो । यसैगरी सदस्यहरुमा यम बहादुर दूरा, गणेश प्रसाद घिमिरे र आशिष मिश्र हुनुहुन्छ ।

यसैगरी संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णलीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी रहनुभएको छ ।

सो अवसरमा आयोजित छलफल कार्यक्रममा वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले पत्रकारिता क्षेत्रमा विकृति बढ्दै गएको र यसलाई सुधार्नका लागि नियमन गर्ने संस्था त छँदैछ त्यसबाहेक पत्रकार स्वयंले पनि जिम्मेवारी र उत्तरदायित्व बहन गर्न आग्रह गर्नुभयो ।

यसैगरी प्रेस काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहितामा रहेर काम गर्नुपर्ने भए पनि अहिले पनि मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्री आउने गरेको बताउँदै कतिपय अनलाइन दर्ता नै नभई सञ्चालन भइरहेको र तिनले दिने सामग्री नियमन गर्न गाह्रो पर्ने गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले मिडियामा आउने सामग्रीले सधैं सूचना मात्र नदिई कहिलेकाहीं समाजमा झनै त्रास फैलाउने गरेको बताउँदै कोरोना महामारीका बेला अनेक खालका मनोमानी हिसाबले सूचना दिंदा नागरिक त्रसित बनेको भन्दै इन्फोडेमिकको शिकार हुन पुगेको प्रसंग उल्लेख गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनेपर्ने म्यान्डेट सहित अघि बढेकाले सोही बमोजिम विभिन्न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो ।

यसैगरी संस्थाको सल्लाहकाहरुमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्की चयन हुनुभएको छ ।

मानार्थ सदस्यमा अन्तराष्ट्रिय विज्ञहरुलाई राखिएको छ। दुबईको खालिफा विश्वविद्यालयकी डा सादिया जामिल, यूनिभर्सिटी अफ एजुकेसन घानाकी डा गिफ्टी आपिह अदजेइ, डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा वारिश कोबान, युनिभसिंटी अफ पिस भेनेजुयलाका डा मारिया टेरेसा, किर्गिस्तानको अनलाइन युनिभर्सिटीका अध्यक्ष डा इलिरा तुरदुभावे, बंगलादेशका प्राध्यापक डा जुड विलियम जिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफ जर्नालिजम एण्ड कम्युनिकेसनका निर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स हुनुहुन्छ ।

Comments
Loading...